
नगरकार्यपालिका कार्यालय सार्ने प्रस्ताब सेवाग्राहीमैत्री
यदि कसैले कुनै बिषय उठान ग¥यो भने त्यो नागरिकमैत्री छ कि छैन, भनेर ब्याख्या विश्लेषण गर्न भन्दा त्यो प्रस्ताब कसले ल्यायो, त्यो सफल भयो भने श्रेय कसलाई जान्छ भन्नेतिर सबको ध्यान जान्छ जसले गर्दा राम्रा प्रस्ताब सफल हुन पनि हम्मेहम्मे पर्छ ।
गोरखा नगरपालिकाको कार्यालयलाई जिससको कार्यालय भएको ठाउँमा स्थानान्तरण गर्नुपर्छ भन्ने प्रस्ताबले शनिबारको कार्यपालिका बैठकमा स्थान पायो । सामान्य छलफलपछि थप छलफल र निर्णयका लागि मेयर र उपमेयरलाई जिम्मा दिने पनि भएको छ ।
प्रस्ताब अनुपयुक्त छ भनेर शायदैले भन्न सक्छन्, किनभने हालको नगरपालिका कार्यालय वडा नं. ८ को डुम्रीडाँडामा छ । बिनासवारी साधन त्यहाँ जान आउन कठिन छ । नगरपालिकाका सेवाग्राहीमध्य मुस्किलले १० प्रतिशतसम्म मात्र निजी सवारी साधन छ । बाँकी सबै सेवाग्राही नगरपालिका पुग्न महंगो भाडा तिरी ट्याक्सी प्रयोग गर्न बाध्य छन् ।
सो कार्यालयमा बगुवाको सीमाना, सिरानचोकको सीमाना, आँबुखैरेनी, बरादी, मार्किचोक, धुवाँकोटको सीमानादेखिका सेवाग्राही सेवा लिन आउनु पर्ने हुन्छ । सार्वजनिक सवारी साधन प्रयोग गरेर आएका उनीहरुलाई त्यहाँसम्म पुग्न धेरै कष्टकर छ ।
एकातिर धेरै सेवाग्राहीको भीड लाग्ने कार्यालय अपायकमा छ, अर्कातिर सेवाग्राही नागरिकहरु खासै जोडिनु नपर्ने जिससको कार्यालय बजारको बीचमा छ ।
यदि यी दुई कार्यालयहरुले भवन सट्टापट्टा गरे भने सर्वसाधारण सेवाग्राही धेरै लाभान्वित हुनेछन् । जिससमा बेलाबेला समन्वय बैठक हुन्छ । त्यस्ता बैठकमा आउने पालिकाका पदाधिकारीहरु सबैसित सवारी साधन हुन्छ । उनीहरुलाई त्यहाँसम्म पुग्न त्यत्ति कठिनाइ हुदैन, जति कठिनाइ सर्वसाधारणलाई त्यहाँसम्म पुग्न हुन्छ ।
यस्तो अभ्यास तनहूँको व्यास नगरपालिकामा आजभन्दा २७ बर्षअघि नै भएको हो । हाईवेसित जोडिएको कृषि कार्यालय र बजारबाट केही पर रहेको नगरपालिका कार्यालयले भवन सट्टापट्टा गरेको उदाहरण छ ।
त्यसैले प्रस्ताब कसले ल्यायो, कहिले ल्यायो भनेर पूर्वाग्रह राखेर नसोची निरपेक्ष रुपमा सोच्नुपर्छ । राम्रो छ भने ‘राम्रो छ’ भन्न हिच्किचाउनु जरुरी छैन । एउटा पार्टीका नेताले घाम पूर्वबाट उदाउँछ भन्यो भने त्यस उक्तिप्रति बिरोधै गर्नुपर्छ भन्ने जरुरी छैन ।




