
माछाखोलाको खाद्य डिपो नुब्री र चुममा स्थापना गर
एउटा प्रसंगमा नेता गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘गल्ती काम भइरहँदा पनि टुलुटुलु हेरेर बस्ने मान्छे या त चरम अवसरवादी हो, या त दास ।’
स्वतन्त्र, स्वाभिमानी, सार्वभौम जनताका लागि यो धेरै मर्मस्पर्शी वाक्य हो, तर अहिले समय अलिकति फरक छ, जसले यो वाक्यलाई अव्यवहारिक बनाइदिएको छ । अहिले जसले ‘त्वमेव माता च पिता त्वमेव, ….. त्वमेव सर्वं मम देव देव’ भनेर त्वं शरणम् गच्छामि गर्छ, उसको फलिफाप हुन्छ, जसले यथार्थ बोलेको वा लेखेको छ, उसको खेदो खनिन्छ । विभिन्न बिल्ला भिराइन्छ । उसको नाम बिभिन्न सूचीमा रेकर्ड गरिन्छ ।
जनयुद्धका बेला राज्य पक्षलाई मन परेन भने आतंककारीको बिल्ला भिराएर जे पनि गर्न सक्थ्यो, युद्धरत पार्टीलाई मन परेन भने सुराकी, जासुस, ‘र’ को एजेण्ट जस्ता बिल्ला भिराउँथ्यो र जे पनि गर्न सक्थ्यो ।
यथार्थ बक्नेलाई अहिले पनि विभिन्न किसिमले आतंकित बनाइन्छ । तैपनि लेख्नेले लेख्न, बोल्नेले बोल्न छाड्नु हुन्न ।
माछाखोलामा अब सरकारी खाद्य डिपोको जरुरी छ्रैन, त्यसैले यहाँबाट डिपो हटाएर नाम्रुङ वा यस्तै उपयुक्त ठाउँमा स्थापना गर्नुपर्छ भनेर बर्षौँदेखि बोलिरहेको बिषय फेरि बोल्नु पर्ने, लेख्नुपर्ने भएको छ । सुन्नेले नसुन्न सक्छ वा मन नपराउन सक्छ, तर सरकारले ढुवानी सहुलियतमा उपलब्ध गराउने चामल केही बर्षयता माछाखोला डिपोबाट बिक्री हुन छाडेको सत्य हो । यसको अर्थ हो, माछाखोलाबाट डिपो हटाउनु नै पर्छ ।
यहाँ मोटरबाटो पुग्यो, मोटरले सुगम बनाइदियो । बजारमा पाइने सबैखाले चामल अब यहाँका बासिन्दाले निर्वाध किनेर खान सक्ने भएका छन् । फिलिममा पनि अब करिब करिब यस्तै अबस्था आउँदैछ ।
बरु मोटरबाटो नपुगेको र अझै केही बर्ष मोटरबाटो पुग्न नसक्ने नुब्री र चुम क्षेत्रमा चामल ढुवानी सहज छैन । त्यसैले त्यहाँ खाद्य डिपो स्थापना गर्नु अत्यावश्यक छ ।




