| सोमवार, कार्तिक २३, २०८३

विकास नहुनुमा गल्ती सबैको छ

असार लागेपछिको हिले विकासमा भ्रष्टाचार भयो भन्ने सर्वत्र आलोचना सुनिन्छ । यसमा दोष कसको छ ?
भ्रष्टाचार भयो भनेर पनि सरकारलाई दोष, पूर्वाधार गुणस्तरहीन भएपनि सरकारलाई दोष, समयमा काम सुरु भएन भनेर पनि सरकारप्रति आक्रोश, समयमा सम्पन्न नभए पनि सरकारलाई गाली, काम अलपत्र बनाउने ठेकेदारलाई कारबाही नभए पनि सरकारलाई सत्तोसराप, अत्यावश्यक ठाउँमा उचित कार्यक्रम नपरे पनि सरकारप्रति रोस ।

दोषको पहिलो भाग सरकारले लिनुपर्छ, यो ठिक छ, तर के दोष सरकारको मात्र छ ?
उपभोक्ता समितिले गरेको काम बिगार्ने को हो ? ढिला गरी योजना सम्झौता गर्ने उपभोक्ता समितिमा को छन् ? उपभोक्ताले होस वा ठेकेदारले होस्, गुणस्तरहीन निर्माण कार्य हुँदा पनि टुलुटुलु हेरेर बस्ने को हो ? समयमा काम सुरु नगर्ने, निर्धारित समयमा काम नसक्ने ठेकेदार विरुद्ध आवाज नउठाउने को हो ? ठेकेदारसित काँधमा काँध मिलाएर व्यक्तिगत लाभ लिन उद्दत को ? ठेकेदारसित कमिशनको हिस्सा बार्गेनिङ गर्ने को ?

सोर्सफोर्स लगाएर आवश्यक, अनावश्यक योजना पार्न चलखेल गर्ने को हो ? अत्यावश्यक ठाउँमा योजना पार्नुपर्छ भनेर आवाज उठाउन हिच्किचाउने को हो ?

गलत डिजाइन स्टमेट बनाउने को हो ? सम्पन्न नभएको काम, गुणस्तरहीन भएको कामको बिल भरपाई फरफारक गर्ने को हो ? गलत बिलभरपाई स्वीकृत नगर्ने कर्मचारीलाई अनावश्यक भनसुन गर्ने को हो ?

नेपाल विकास नभएको कुरालाई कसैले अस्वीकार गर्न सक्दैनन् तर विकास नहुनुको कारण के होला ? कारण एउटा मात्र होला ? कमजोरी नेताको हो कि, जनप्रतिनिधिको हो कि, सांसद, मन्त्रीको पो हो कि, वा हो कर्मचारीको ? कि ठेकेदार वा साइटमा थुनछेक गर्ने डनगिरीको ? गुणस्तरहीन सामग्री उत्पादन गर्ने कम्पनीको वा बिचौलियाको ?

जो जहाँ छ, गल्ती र कमजोरी सबैको छ । त्यसैले नेपाल जस्तो पिछडिएको मुलुक निर्माण गर्न केही कठोर वा निर्दयी कदम चाल्नुपर्छ । गलत तत्व पहिचान गरी घेराबाट निकाल्नै पर्छ । अनि मात्र परिवर्तनको अनुभूति हुनेछ ।

प्रतिक्रिया दिनुहोस्