| मङ्लबार, कार्तिक २४, २०८३

कर तथा विद्युतीय बिलिङ सम्बन्धी अन्तरक्र्रिया

गोरखा उद्योग बाणिज्य संघको आयोजनामा विद्युतीय कर बिजक सम्बन्धमा जानकारी दिने उद्देश्यले मंगलवार अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग बाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षता र आन्तरिक राजश्व कार्यालय दमौलीका प्रमुख कर अधिकृत नारायणप्रसाद ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल सरकारको परिवर्तित कर नीति अनुसार आर्थिक वर्ष २०७९/०८० को लागि भएका कर छुट तथा वार्षिक १० करोड भन्दा माथि कारोवार गर्ने कारोवारीहरुले अनिवार्य रुपमा विद्युतीय कर बिजक जारी गर्नुपर्छ ।

संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वार्षिक १० करोड भन्दा बढि कारोवार गर्ने विभिन्न फर्मका संचालक तथा लेखा हेर्ने कर्मचारीहरु, थोक व्यवसाय संचालन गर्ने संचालकहरु, संघका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा आर्थिक विधेयक २०७९ मा भएका कर छुट सम्बन्धी व्यवस्था अन्तर्गत कोरोना छुट सहुलियत, करको दायरामा आउनेलाई लाग्ने क, शुल्क तथा ब्याज मिनाहा हुने व्यवस्था, मिसम्याचका स्किम सुविधा सम्बन्धी व्यवस्थाका बारेमा कर अधिकृत ढकालले जानकारी दिएका थिए ।

संयुक्त उपक्रम (ज्वयन्ट भेन्चर) करदाताहरुलाई बक्यौता मूल्य अभिवृद्धि कर छुटसम्बन्धी विशेष व्यवस्था, ढुवानी साधनको भाडावापतको खर्च कट्टी सम्बन्धी विशेष व्यवस्था, दण्ड, सजाय सम्बन्धी व्यवस्था, करपाटी सम्बन्धी जानकारी साथै विद्युतीय विलिङका लागि पेश गर्नुपर्ने कागजातहरु, स्वीकृति प्राप्त भए पश्चात करदाताले गर्नुपर्ने काम, विद्युतीय विलिङ गर्दा करदाताहरुलाई हुने सुविधाका वारेमा छलफल भएको थियो ।

सो कार्यक्रममा २०७९/८० कर छुट सम्बन्धमा आन्तरिक राजस्व कार्यालय सेवा कार्यालय गोरखाका कर अधिकृत अर्चना आचार्य र कम्प्युटर विलिङका बारेमा राजस्व कार्यालय दमौलीका कम्प्युटर अधिकृत रामप्रसाद पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यक्रममा ६२ जना व्यवसायीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्