
यारुखोलामा खच्चड बचाउने क्रममा ३३ वर्षीय गुरुङ बेपत्ता
यारुखोलाको भेलले बगाएको खच्चड बचाउने क्रममा चुमनुव्री गाउँपालिका–३ का ३३ वर्षीय माइला गुरुङ बेपत्ता बनेका छन् ।
माछाखोलाबाट उत्तरी गोरखा खच्चडमार्फत सामान ढुवानीको क्रममा आइतबार धार्चे गाउँपालिका–१ को यारुखोलाको भेलमा खच्चड फसेको थियो । उक्त खच्चड बचाउन पुगेका माइलालाई खोलाले बगाएको स्थानीय गणेश कार्कीले बताए । ‘खच्चडलाई जोगाउन खोज्दा चिप्लिएर भेलतिर हुत्तिएर बगाएछ,’ उनले भने ।
खच्चड ड्राइभर बेपत्ता बनेका खबरपछि अहिले स्थानीय र जगतबाट पुगेको प्रहरी टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए । यारुखोलाले माइलालाई बगाएर बुढीगण्डकीमा पुर्याएको स्थानीयहरुले बताएका छन् ।




