
मनसुन सुरु भयो, सुरक्षित रहनू : विपत् व्यवस्थापन समिति
विपत्बाट हुने क्षति न्यूनिकरण गर्न घरजग्गा, अन्नबाली, पशुपन्क्षी लगायत तरकारी खेती फलफुलको बिमा गर्न जिल्ला विपत् ब्यवस्थापन समितिले सर्वसाधारणलाई अनुरोध गरेको छ ।
सबै पालिकाले आफ्नो क्षेत्रमा रहेका ब्यक्तिहरुलाई बीमा कार्यक्रममा अग्राधिकार दिनुपर्ने निर्णय मंगलवार बसेको जिल्ला विपत् ब्यवस्थापन समितिको बैठकले गरेको छ । साथै मनसुन सुरु भएकाले विपत् र प्रकोपबाट हुनसक्ने क्षति न्यूनिकरणमा सचेत रहँदै सुरक्षित हुन जिल्लाबासीलाई जिल्ला समितिले अनुरोध गरेको छ ।
प्रकोपबाट हुने क्षतिलाई आँकलन गर्दै कम क्षति हुने वातावरण बनाउन सरोकारवाला सबैलाई बैठकमार्फत अनुरोध गरेको छ । सोही अनुसार कार्यक्रम संचालन गर्न सरकारी, गैरसरकारी संघ संस्थाहरुलाई बैठकले सुझाव दिएको छ ।
अहिले मनसुन सुरु भईरहेकाले यसबाट हुन सक्ने क्षतिलाई न्यूनिकरण गर्न तालिम प्राप्त सुरक्षाकर्मी टोली र उद्धार सामग्री तयारी अवस्थामा राख्ने निर्णय भएको विपत् ब्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।
नेपाल रेडक्रस सोसाईटी गोरखा शाखाले तयार पारेको आपत्कालीन कार्ययोजना स्वीकृत गरी कार्यन्वयनमा ल्याउने निर्णय पनि बैठकले गरेको छ । कुनैपनि ठाउँमा प्रकोपबाट आउन सक्ने विपत्को खतरा भएमा तत्काल पालिकालाई जानकारी गराउने, गैरखाद्य सामग्री नेपाल रेडक्रस सोसाईटीले तयारीमा अवस्थामा राख्ने निर्णय बैठकले गरेको छ ।
बाटोघाटो अवरुद्ध भएमा ११ किलो छेपेटार बारपाक सडक आयोजना, सडक भिडिजन कार्यालय दमौली, मध्यपहाडी सडक योजना कार्यालय पालुङटार र पूर्वाधार विकास कार्यालय गोरखाले तत्काल सुचारु गर्ने ब्यवस्था मिलाउनुपर्नेछ ।
टेलिफोन विद्युत, खानेपानी जस्ता अत्यावश्यक सेवा अवरुद्ध भएमा तत्काल सुचारु गराउन सम्बन्धित कार्यालयलाई तयार रहन निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।




