| सोमवार, कार्तिक २३, २०८३

उत्कृष्ठ बन्ने यात्रामा गोरखा अस्पताल

चालु आर्थिक बर्षको कुनै एक आवधिक मूल्यांकनमा गोरखा नगरपालिकाको स्वास्थ्य शाखा गण्डकी प्रदेशकै सर्वोत्कृष्ठ बन्न सफल भएको थियो । कोभिड व्यवस्थापनमा सर्वोत्कृष्ठ कार्यसम्पादन गरेबापत नगरपालिकाको स्वास्थ्य शाखा पुरस्कृत भएको थियो ।

कुनै समय थियो, गोरखा अस्पताल देशकै उत्कृष्ठ जिल्ला अस्पतालहरुमध्य पथ्र्यो । डाक्टर गुणराज लोहनीले मेडिकल सुपरीटेण्डेण्ट र जनस्वास्थ्य कार्यालय प्रमुख दुवै पदमा एकसाथ रहेर काम गरेका बेला गोरखा अस्पतालको अबस्था ज्यादै उत्कृष्ठ थियो ।

व्यवस्थाले दुवै निकायको प्रमुख बन्न पाइने भए पनि नभए पनि उनले दुवै निकाय एकसाथ उत्कृष्ठ रुपमा सञ्चालन गरेका थिए । उनीपछि केशवराज भुर्तेलले अस्पतालको नेतृत्व सम्हाले । यी दुवै डाक्टरले नेतृत्व लिएको बेलालाई गोरखा अस्पतालको मधुमासकाल भन्न सकिन्छ । त्यतिबेला पत्थरीको अपरेशन, एपेण्डिसाइटिसको अपरेशन, हर्निया, हाइडूोशीलको अपरेशन, ट्युमर निकाल्ने लगायतका अपरेशनसम्मको काम हुन्थ्यो । अपरेशन गरेर सुत्केरी गराउने काम सबैभन्दा धेरै हुन्थे ।

स्त्री, प्रसुती रोगका विशेषज्ञ चिकित्सकको संख्या पनि उल्लेख्य थियो । त्यसैले त्यतिबेला अस्पतालले निकै राम्रो माइलेज लिएको थियो । त्यसपछि बिस्तारै गति सुस्त हुन थाल्यो । भूकम्पले भौतिक संरचना पनि तहसनहस भयो । चिकित्सक क्वाटरबाट सेवा सुरु हुन थाल्यो । मेसुमा पनि राजनीतिक लुछाचुँडी बढ्न थाल्यो । समितिहरु पनि अस्पतालको गुणस्तर सुधार गर्नतिर भन्दा मेसु ल्याउन र लखेट्नमा, नयाँ कर्मचारी भर्ना गर्न र फाल्नमा तल्लीलन हुन थाले । सामान खरिद गर्न, कमिशन खान, बिल मिलाउनमा मात्र सीमित बन्न थाले । यसले अस्पतालको अबस्था दिनानुदिन अधोगतितिर लाग्यो ।

अहिले अस्पतालले धेरै सुधार गर्दै आएको छ । नयाँ भवन र नयाँ प्रविधिमा सञ्चालन हुन थालेपछि बिरामीको संख्या पनि बढ्दै गएका छन् । विश्वास पनि बढ्दै गएको छ । अबको आवधिक मूल्यांकनमा गोरखाले उत्कृष्ठ नतिजा निकाल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्