| सोमवार, कार्तिक २३, २०८३

नेता बन्न नेताप्रिय भन्दा जनप्रिय बन्नुपर्छ

यसपटकको निर्वाचनमा विभिन्न रोचक दृश्यहरु देखिए । निर्वाचन हो, जीत हार त भइ नै हाल्छ । तर जीत हारको यात्रामा पनि विभिन्न घटनाहरु मार्मिक तथा रोचक रहे ।
ती रोचक दृश्यमध्यको एक हो, पाँचबर्षअघि जो जससित हारेका थिए, उनैले उनैलाई हराएर यसपटक मेयर तथा अध्यक्ष बन्न सफल भए ।
२०७४ को चुनावमा गोरखा नगरपालिकामा माओवादीका कृष्ण रानालाई पन्द्रसय चौतीस मतान्तरले हराएर राजनराज पन्त मेयर भएका थिए । अहिले उनै रानाले उनै पन्तलाई अठारसय छपन्न मतान्तरले हराएर मेयर बन्न सफल भएका छन् ।
पालुङ्टार नगरपालिकामा पनि पाँचबर्षअघि माओवादीका विवश चिन्तनलाई दुईसय उनानअसी मतान्तरले पराजित गरी कांग्रेसका दीपकबाबु कँडेल मेयर भएका थिए । तर यो चुनावमा उनै विवश चिन्तनले उनै कँडेललाई एकहजार पचहत्तर मतान्तरले पछि पार्दै मेयर बने ।
धार्चे गाउँपालिकामा पाँचबर्षअघि माओवादी(तत्काल नयाँशक्ति)का लक्ष्मण गुरुङलाई ६९ मतले पछि पार्दै कांग्रेसका सन्तोष गुरुङ अध्यक्षको पद सम्हाल्न पुगेका थिए । पाँचबर्षपछि अहिले उनै लक्ष्मण गुरुङले सन्तोष गुरुङलाई अठारसय पच्चीस मतले पछि पारेर अध्यक्ष बनेका छन् ।
गण्डकी गाउँपालिकामा पाँचबर्षअघि माओवादीका दीपक तिमिल्सिनालाई दुईसय एकासी मतले पछिपार्दै कांग्रेसका होमबहादुर राना अध्यक्ष बनेका थिए । पाँचबर्षपछि अहिले उनै तिमिल्सिनाले उनै रानालाई सोह्रसय एकहत्तर मतले पछाडि पारेर अध्यक्ष बन्न सफल भएका छन् ।
यी दृश्यले के कुरालाई पुष्टि गरेको छ भने हार भनेको जीतको पाठ हो । त्यही हारबाट पाठ सिकेर जसले मिहिनेत गर्छ, ढिलो वा चाँडो उ सफल हुन्छ । हार हुँदा गरेका त्रुटीको राम्ररी अध्ययन गरी त्रुटी सच्याएर अघि बढेमा जीत सुनिश्चित हुन्छ । यदि हारसित हार खाई पछि हटेमा हार निश्चित हुनेछ ।
त्यति मात्र होइन, राजनीतिमा ठूलो नेता बन्न नेताप्रिय होइन, जनप्रिय हुनुपर्छ । केन्द्रमा पुग्ने जो कोही नेताको जनाधार कति छ भनेर मूल्यांकन हुने गर्छ । अर्थात फेदेदेखि नै कत्तिको बलियो छ भन्ने मूल्यांकन हुने गर्छ । तसर्थ जित्नका लागि जनाधार बलियो बनाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्