| मङ्लबार, कार्तिक २४, २०८३

स्त्री रोग र पाठेघरको क्यान्सर परीक्षण शिविरबाट शहिद लखनका ४३७ जनाले सेवा लिए

गोरखाको शहिद लखन गाउँपालिकाले पालिकाभित्रका विभिन्न स्वास्थ्य संस्थामा सञ्चालन गरेको स्त्री रोग र पाठेघरको क्यान्सर परीक्षण शिविरमा ४३७ जनाले सेवा लिएका छन् ।

गाउँपालिकाकाले मंगलबारदेखि शनिबारसम्म पालिकाभित्रका ५ वटा स्वास्थ्य संस्थामा संचालन भएको शिविरबाट ४ सय ३७ जनाले सेवा लिएका हुन् । जसमध्ये २६ जनामा भिआइए टेष्ट पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार उनीहरुको तत्कालै थर्मो(कोबुलेसन पद्धतिबाट उपचार गरिएको छ ।

पहिलो दिन मंगलबार बुंकोट आधारभूत स्वास्थ्य केन्दूमा सञ्चालन भएको शिविरमा ३८ जनाले स्त्री रोग र पाठेघरको क्यान्सर परीक्षण गराएका थिए ।

जस मध्ये २ जनामा भिआइए टेष्ट पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्रेष्ठको भनाई छ । बुधबार नाम्जुङ स्वास्थ्य चौकीमा भएको शिविरमा ८० जनाको परिक्षण गर्दा ७ जनामा भिआइए टेष्ट पोजेटिभ देखिएको उनले बताए ।

त्यस्तै बिहिबार ताक्लुङ स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा ८५ जनाले परीक्षण गराएका थिए । जस मध्ये ३ जनामा पाजेटिभ देखिएको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताए । शुक्रबार बक्राङ स्वास्थ्य चौकीमा भएको शिविरमा १४८ जनाले परिक्षण गराउदा ८ जनाको रिर्पोट पाजेटिभ आएको छ ।

यसैगरी शनिबार मनकामना आधारभूत स्वास्थ्य केन्द्रमा ९८ जनाले पाठेघरको क्यान्सर परीक्षण गराएका थिए । स्वास्थ्य शाखा प्रमुख श्रेष्ठका अनुसार मनकामनामा ८ जनाको रिर्पोट पोजेटिभ देखिएको छ ।
शिविरमा गोरखा अस्पतालका स्त्री रोग विषेशज्ञ डाक्टर दीक्षा पौडेलले स्त्री र प्रसूती रोगको परिक्षण गरेका थिए ।

नेपाल एशियन सर्भाइकल क्यान्सर फाउण्डेशनको प्राविधिक सहयोगमा पाठेघरको क्यान्सर परीक्षण गरिएको गाऊँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्