
हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो
हिजोदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा जहाज फेला परेको छ ।
तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्द्रसिंह शेरचनले ‘कोही पनि जीवित अवस्थामा नभेटिएको’ बताएका छन् ।
टेलिफोन सम्पर्कमा आएका उनले नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले शव संकलन गरिरहेको बताए ।
उनका अनुसार पाइलटको मोबाइल फोन लोकसेन र विमानको जिपीएसको आधारमा त्यसक्षेत्रमा दुर्घटनाग्रस्त विमानको खोजी भइरहेको थियो । तर आइतबार अन्धकारका कारण खोजी सम्भव नभएको भन्दै नेपाली सेनाको खोजी तथा उद्धार टोली जोमसोम फर्किएको थियो ।
‘म, सुमित गौचन भन्ने भाइ र नेपाल प्रहरीका एकजना इन्स्पेक्टर यार्सागुम्बा खोज्ने किसानसँगै राति यहीँ बसेका थियौं,’ उनले भने, ‘बिहान माथि गएका किसानले देखेपछि खबर गरेका थिए, हामी त्यहाँ पुगेर प्रहरीलाई खबर गरेका हौं ।’
त्यही आधारमा भर्खरै नेपाली सेनाको टोली हेलिकोप्टरमार्फत घटनास्थलमा पुगेको उनले बताए । ‘शवहरु जलेको अवस्थामा छैनन्, क्षतविक्षत भए पनि कतिपय अनुहार चिन्न सकिने अवस्थामा छ,’ उनले थपे, ‘यो गत २८ कात्तिकमा हिमपहिरो गएको मानापाथी हिमालको फेदीमा सानोशेरे भन्ने स्थान हो ।’
यार्सागुम्बा संकलकले फेला पारेका थिए दुर्घटनामा परेको जहाज
आइतबार बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एईटी कल साइन भएको ट्वीनअटर जहाज सम्पर्कविहीन भएको थियो । सो जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए ।
आइतबार दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरिएको थियो । सोमबार बिहान ५ बजेदेखि फेरि हवाई र स्थल दुवै तर्फबाट खोजी सुरु गरिएको थियो ।




