
वितरणमुखी कार्यक्रमलाई निरुत्साहित गरौँ
सफलताका प्रेरक व्यक्तित्व शिव खेरा ‘विजेता अलग चीजेँ नहीँ करते हैँ, वे चीजोँको अलग तरहसे करते हैँ’ भन्छन् ।
अहिले पालिका तथा वडाका नवनिर्वाचित जनप्रतिनिधिहरु आकासको जुन छुने, सागरको मोति टिप्ने कार्यक्रम ल्याइहाल्नु पर्छ भन्ने हतार गरिरहेको देखिन्छ । अहिले नवनिर्वाचित जनप्रतिनिधिहरुले धमाधम लोकप्रिय कार्यक्रमहरु घोषणा गर्न हतारिइरहेका छन् । दिनहूँ एकसेएक लोकप्रिय कार्यक्रमहरु घोषणा भएको समाचारहरु आइरहेका छन् ।
सबैको प्रिय भएर लोकप्रिय हुने हो, त्यसैले लोकप्रिय कार्यक्रम आउनु ठिक छ । तर लोकप्रियता कार्यक्रमको होडमा विवेक पुगेन भने हावादारी र उँडन्ते कार्यक्रम पनि आउन सक्छन् । अर्थात दुईचार महिनापछि निरन्तरता दिन नसक्ने कार्यक्रमहरु पनि आउन सक्लान् ।
छिटो तात्ने धातु छिटो सेलाउँछ, भन्ने कथन छ । त्यसैले तातै खाऔँ, जल्दै मरौँ नगरौँ ।
अहिले चुनिएका जनप्रतिनिधि सामु पाँचबर्ष अवधि बाँकी छ । त्यसैले संयमित बनौँ, लोकप्रिय कार्यक्रमको हुरीमा नबहकिउँ । खरायो र कछुवाको दौडको सन्देशले भनेझैँ निरन्तरता नै सफलताको कडी हो । पाँचबर्षसम्मको अवधिमा धेरै गर्नुछ, अहिलै हतार गर्दा त्यसको निरन्तरतामाथि शंका हुनसक्छ ।
दोस्रो कुरा, जनप्रतिनिधिहरु वितरणमुखी कार्यक्रमप्रति लालयित छन् । वितरणमुखी कार्यक्रमले तत्कालका लागि जनमन आकर्षण गर्न सकिन्छ । अर्को कार्यकालकालागि जीत सुनिश्चित गर्न प्राय जनप्रतिनिधिहरुले वितरणमुखी कार्यक्रममा जोड दिने गरेको पाइन्छ । राज्यको ढुकुटीबाट जनतालाई दान गर्नुलाई नराम्रो भन्न त मिल्दैन, तर यसको दीर्घकालीन फाइदा के हुन्छ भनेर विवेचना गर्नुपर्छ ।
मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा सुरु गरिएको सामाजिक सुरक्षा भत्ता दिने कार्यक्रमलाई देखाएर चुनावमा भोट माग्न असाध्यै ठूलो काम गरेको पाइन्छ । यसैलाई नजिर बनाएर विभिन्न पालिका, वडा कार्यालयहरुले बिभिन्न शीर्षक बनाएर पैसा बाँड्ने कार्यक्रमलाई बढवा दिइरहेका छन् । यसमा जनप्रतिनिधिहरुले संयमित भएर समीक्षा गर्नु जरुरी छ ।




