
सँधै बढ्दै बदर मतको दर
प्रजातन्त्रको आगमनपछि २०१५ सालदेखि नेपालमा बहुदलीय निर्वाचनको अभ्यास भएको हो । ६५ बर्षको यो लामो अभ्यासमा पनि मत बदर हुने दर न्यूनिकरण हुन सकेको छैन ।
यो बीचमा साक्षरता दर बढ्यो, असभ्यबाट सभ्य हुने क्रम बढ्यो, गरिबीबाट सम्पन्न हुने दर बढ्यो । परनिर्भरताबाट आत्मनिर्भरता बढ्यो, राजनीतिक चेतना बढ्यो, हक अधिकारको आवाज बुलन्द बनाउने चेतना बढ्यो । पूर्वाधार विकासको क्रम बढ्यो । देश, विदेशका विभिन्न खाले अभ्यासहरुको बारेमा ज्ञानगुनका कुरा फैलिए । सबै कुरा बढ्दै गयो, योसंगसंगै बदर मतको दर पनि बढ्यो ।
अर्बौँ खर्च गरेर निर्वाचन हुने गर्छ । निर्वाचनको मुख्य पाटो मतदान हो । यतिबिधि खर्च गरेर गरिएको जनताको मतदान ब्यर्थ भइदिन्छ । बाहिरि खर्च रुपमा गरिएको खर्च हो, मतदानका लागि गरिने खर्च सारका लागि गरिएको खर्च हो । मत बदर हुने घटनाले सरकारी खर्च रुपका लागि मात्र गरिएको पाइयो, सारका लागि भएको पाइएन । यति धेरै खर्च गरेर मतदान गरे पनि बदर नहुने गरी मतदान गर्ने चेतना बढेन ।
पाँच बर्षअघिको चुनाव भन्दा अहिलेको चुनावमा बदर मतको संख्या पाँच गुनासम्म बढि छ । विशेषगरी दलित महिलाका लागि गरिएको मतदानमा ३३ प्रतिशत मत बदर भएको निर्वाचन कार्यालयमा रहेको अभिलेखमा उल्लेख छ ।
मत यतिधेरै किन बदर हुन्छ भन्ने बारे कारण खोजी गरी मत खेर जान नदिने काम गर्नुपर्छ । विशेषगरी निर्वाचन आयोगले मत बदर नियन्त्रण गर्न पहल गर्नुपर्छ । राजनीतिक दलले पनि आफूले पाएको भोट व्यर्थ हुन नदिन मतदातालाई सचेत गराउनु पर्छ । शिक्षित गराउनु पर्छ । त्यसका लागि मतदाता शिक्षालाई सबल बनाउनु पर्छ ।




