
कार्यान्वयन गर्न नसकिने आश्वासन नबाँडौँ
हालै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । गोरखाका पनि चुमनुब्रीबाहेक प्राय पालिकाको नतिजा आएको छ । छोटकरीमा भन्नुपर्दा अघिल्लो कार्यकालमा कांग्रेस पहिलो, माओवादी दोस्रो स्थानमा थिए । यो चुनावले ठिक विपरीत परिस्थिति बनाएको छ । अधिकमा माओवादी केन्द्र विजयी भएको छ, कांग्रेस दोस्रो शक्ति बनेको छ ।
अर्थात अहिले गोरखाको नेतृत्व अहिले माओवादीको हातमा गएको छ ।
द्वन्द्व काल अघिदेखि माओवादी हुँदै आएकाहरु वैचारिक हुन्छन् । सत्यनिष्ठा, त्याग र धैर्यका अंश उनीहरुमा हुन्छ । शान्ति प्रक्रियापछि माओवादी बनेकाहरुमा यो न्यून मात्र लागु हुन्छ भन्ने विश्वास गरिन्छ ।
यतिबेला गोरखाका गाउँघरमा विजय र्याली धुमधाम चलिरहेको छ । र्यालीपछि आयोजना हुने कोण सभामा नयाँ जनप्रतिनिधिले मन्तव्य व्यक्त गर्ने गर्छन् । त्यतिबेला उत्तोजित भए, जोशिएर आकाश र पातालका कुरा गर्यो भने सुरुमै जनविश्वास गुम्छ । पाँच बर्षको कार्यकालभरि कति काम दिन सकिन्छ त्यसको खाका बनाई गर्न सकिने कामको मात्र जानकारी दिनुपर्छ ।
झुठो भने पनि नागरिकले आश्वासनै माग गर्छन् । किनभने उनीहरुमा शिक्षा, सचेतना आदिको विकास छैन । सदियौँदेखिको उही पुरानै शैलि अहिले पनि अपनाइरहनछन् । भोटलाई पैसा, खानेकुरा, लगाउने लुगाहरुसित साँट्ने परम्परा अहिले पनि जीवित रहेको पाइयो । मौका, परिस्थिति र परिवेश अनुसार सबै पार्टीले साम, दाम, दण्ड, भेद प्रयोग गर्छन् । यसलाई निर्मूल पार्न कसले सक्छ ? कसैले सक्दैनन् ।
अहिले नयाँ जनप्रतिनिधिले छान्ने कार्यक्रम पनि त्यहाँको भूधरातलसित मिल्दोजुल्दो हुनुपर्छ । विभिन्न ठाउँको देखासिकी गरेर नभै स्थानीय हावा, पानी, माटोसित मिल्दोजुल्दो हुनुपर्छ । आजको सचेत युवा पुस्ताले इतिहासबाट पाठ सिकेर आफ्नो पालिकालाई संवृद्ध बनाउन लागि गर्नुपर्दछ ।




