| सोमवार, कार्तिक २३, २०८३

जोगाउलान् त केन्द्रीय नेताले पार्टीको साख ?

गत स्थानीय तहको निर्वाचनमा गोरखा घर भएका प्राय सबै केन्द्रीय तथा जिल्लास्तरका शीर्ष नेताले आफ्नै पालिका, अझै आफ्नै वडामा पार्टीलाई जिताउन सकेका थिएनन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको वडा पालुंटार १ मा जसपाले जितेको थियो । अर्का केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठको वडा आरुघाट पनि कांग्रेसले हार ब्यहोरेको थियो । जिल्ला सभापति हरिबहादुर घलेको गाउँपालिका बारपाक सुलीकोट र वडाहरु दुवैमा कांग्रेसले हार बेहोरेको थियो ।

माओवादीका केन्द्रीय नेता नारायणकाजी श्रेष्ठको सिरानचोक गाउँपालिका, अर्का केन्द्रीय नेता हितराज पाण्डे र चुडामणि खड्काको पालिका पालुङटार नगरपालिका, हरिराज अधिकारीको घर रहेको गण्डकी गाउँपालिकामा पनि माओवादीले हार बेहोरेको थियो । जिल्ला इञ्चार्ज कृष्ण धितालको घर रहेको भीमसेन थापा गाउँपालिका, अध्यक्ष लेखबहादुर थापाको घर रहेको गोरखा नगरपालिका र उनकै वडा नं. २ मा पनि उनले पार्टीलाई जिताउन सकेका थिएनन् ।

नेकपा एमालेका जिल्ला इञ्चार्ज रामशरण बस्नेत, केन्द्रीय सदस्य सम्झना देवकोटाले पार्टीलाई आफ्नै घर रहेको गोरखा नगरपालिकामा जिताउन सकेनन् । जिल्ला अध्यक्ष प्रेम गुरुङले आफ्नै पालिका सिरानचोक र वडामा पार्टीलाई जिताउन सकेनन् ।
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पनि आफ्नो पार्टीलाई आफ्नै नगरपालिका पालुङटारमा जिताउन सकेनन् ।

यही चुनौतिले अहिले सबै शीर्ष नेताहरु घुँडा धसेर पार्टीको साख जोगाउन लागि परेका छन् । उनीहरु बिहान छ बजेदेखि राती १०, ११ बजेसम्म पनि चुनाव प्रचारमा सक्रिय छन् । यसपटक कति धेरै मिहिनेत गरे र मिहिनेत कति फलदायक हुँदैछ आम गोरखाबासी हेर्न लालयित छन् । सबैले आफ्नो पार्टीको साख जोगाउन सकुन्, शुभकामना ।

प्रतिक्रिया दिनुहोस्