
कार्यकाल दोहोर्याउने रहर कि बाध्यता ?
गोरखामा ११ पालिका र ९४ वटा वडाहरु रहेका छन् । जिल्ला निर्वाचन कार्यालयमा रहेको अभिलेख अनुसार आसन्न निर्वाचनमा पालिकाका १० जना पुराना प्रमुखहरु पुन प्रमुख पदको उम्मेद्वार बनेका छन् । ३७ वटा वडाका पुराना वडाअध्यक्षले नयाँ कार्यकालका लागि पनि उम्मेद्वारी दिएका छन् ।
उनीहरु अहिले पुनः पालिका प्रमुख तथा वडाअध्यक्ष बन्नका लागि घुँडा धसेर लागेका छन् । आफ्नो लक्ष्यमा सफल बनुन्, पालिका प्रमुख तथा वडाअध्यक्ष बन्न सफल बनुन्, शुभकामना ।
तर बिगत कार्यकालमा आफ्नो प्रतिवद्धता पत्रअनुरुप काम गर्न सके वा सकेनन् ? सत प्रतिशत सफल हुन त प्रायः कोही पनि सक्दैन । उनीहरु कतिप्रतिशत सफल भए ? लेखाजोखा गर्नुपर्छ ।
अघिल्लो कार्यकाल पनि सर्वसाधारण नागरिकका लागि बोझ बनेर बिताएका यदि रहेछन् भने पुन प्रमुख÷अध्यक्ष हुँदा महाभूल हुनेछ । यदि अघिल्लो कार्यकालमा धेरै प्रयास गर्दा गर्दै पनि समयले साथ नदिएको भए, विभिन्न कानूनी ज्ञानको अभावका कारण सफल नभएको भए पुन अवसर दिनु स्वभाविक हुन्छ ।
बिगत कार्यकाल संघीयताको पहिलो अभ्यास थियो । धेरै बिषयबस्तुहरु नयाँ थिए । त्यसमाथि पनि झण्डै तीनबर्ष कोभिड १९ को महामारीले मुलुकलाई कराप्यो । झण्डै तीनबर्षको देशको बजेट, पालिकाको बजेट कोभिड व्यवस्थापनमा नै खर्च गर्नुपरेको थियो । यसले गर्दा उनीहरुले चाहेर पनि लक्ष्य पूरा गर्न सफल नभएका हुनसक्छन् ।
तर कतिपय पालिका प्रमुख तथा वडाअध्यक्षहरुले प्रयासै नगरेको आरोप छ । समय बिताउने र अवधि सिध्याउने मात्रै काम गरे । कुनै सिर्जनात्मक, रचनात्मक कामको प्रयास नगरी बिताए । लोकप्रिय कामको थालनी नगरी बिताए ।
दुवै थरी पुराना प्रमुख तथा वडाअध्यक्षहरुको उम्मेदवारी छ । यसबारे राम्ररी अध्ययन, विस्लेषण, मनन गर्नुपर्छ ।




