
दुर्गममा निर्वाचनको महत्व बुझाउने कि ?
संसारका सबै लडाइँमा सहभागी हुनैपर्छ भन्ने छैन । आफूलाई रुचि लागेका बिषयमा सबैलाई रुचि लाग्नैपर्छ भन्ने पनि छैन । अरुलाई छोएका बिषयले आफूलाई पनि छुनै पर्छ भन्ने पनि छैन ।
रुचि आ–आफ्नो, छनौट आ–आफ्नो हुन्छ ।
विशेषगरी अहिले नेपालका सबै स्थानीय तहमा निर्वाचन हुँदैछ । अहिले धमाधम प्रचार प्रसारको चरणमा छ । तल्लो भेगतिर चुनाव प्रचार, घरदैलो, कोणसभा, आमसभाहरु भएका छन् । शीर्ष नेताहरु समेत अहिले गाउँगाउँमा छन् ।
कार्यकर्ताहरु पनि समूहगत रुपमा नारा, जुलुश निकाल्दै टोलटोलमा कुदिरहेका देखिन्छन् । व्यक्तिगत रुपमा पनि आफ्नो सवारी साधनमा आफ्नो पार्टीको झण्डा तथा उम्मेद्वारको चुनावचिन्ह अंकित झण्डा गाडेर कुदिरहेका छन् । घरमा पनि झण्डा गाडेर प्रचारप्रसार गरिरहेको देखिन्छ ।
दुई वा त्यो भन्दा बढि मान्छेको भेटघाट भयो भने झण्डै ९० प्रतिशत कुराकानी चुनावकै हुने गरेका छन् । जित र हारका अनुमानहरु प्रक्षेपण हुने गर्छन् । उम्मेद्वारका गुण र दोशका हिसाव किताव भइरहेका हुन्छन् ।
तर त्यसको उल्टो दुर्गम गाउँहरमा चुनावको त्यति रन्को छैन । आपसमा भेट हुँदा चुनावी कुरा हुँदैनन् । कुनै वडामा त वडाअध्यक्षसहितको टिम नै निर्विरोध भएको छ । कतिपयमा सदस्यहरु निर्विरोध भएका छन् । उम्मेद्वारी दिने मान्छे नपाएर नेताहर घरघरमा पुगेर कन्भिन्स गर्नुपर्ने अबस्था छ । चुमनुब्री ३ बाहेक कुनै पनि वडामा वडाअध्यक्षहरुले कार्यकाल दोहो¥याउने चाह राखेनन् ।
मतदाताहरु पनि भोटहाल्न भन्दा चुनावको दिनमा पनि अन्यत्र जान चाहन्छन् । किनभने उनीहरुमा चुनावको महत्व, जनप्रतिनिधिको महत्व बारे ज्ञान छैन । तसर्थ सरकार(निर्वाचन आयोग)ले गाउँगाउँमा निर्वाचनको महत्व, मतदानको महत्वका बारेमा सिकाउनु जरुरी देखिएको छ ।




