| सोमवार, कार्तिक २३, २०८३

अस्पतालको स्तरीय सेवाले नागरिकलाई सहज

गोरखा अस्पतालमा हिजोआज बिरामीको संख्या बढ्दो छ । नयाँ भबनमा सेवा सुरु गरेर अस्पतालमा विषेशज्ञ सेवा थपिएसँगै बिरामीको संख्या बढेको हो ।

दुई महिनाअघिको अबस्थासित तुलना गर्दा अहिले बिरामीको संख्या दोब्बर बढेको छ । केही समय अघि दुई जना कन्सल्ट्याण्ट रहेको गोरखा अस्पतालमा अहिले १० जना चिकित्सक छन् । अस्पतालले एकै दिन झण्डै तीन सय बिरामीलाई पनि सेवा दिएको छ । गुणस्तरीय सेवाले बिरामी सन्तुष्ट हुन थालेपछि अहिले बिरामी रिफर दर पनि स्वाट्टै घटेको छ ।

गोरखा अस्पतालमा अहिले शल्यक्रिया गराएर सुत्केरी गराउने सेवा पनि सुचारु भएको छ । भौतिक तथा जनशक्ति अभावले केही बर्ष रोकिएको यो सेवाले फेरि निरन्तरता पाउन थालेको हो ।

अहिले अस्पतालमा प्रशुती तथा स्त्रीरोग विशेषज्ञ तीनजना, फिजिसियन एकजना, सर्जन दुईजना, बालरोग विशेषज्ञ एकजना, मानसिक रोग विशेषज्ञ एकजना, एमडिजिपी एकजना र एकजना एनेस्थेसियोलोजिस्टले सेवा दिइरहेका छन् ।

अस्पतालले १० बर्षसम्म रोकिएको एपेण्डिसाइटिसको अपरेशन सेवा पुन सुरु गरेको छ । स्तरीय अपरेशन थिएटर, दक्ष सर्जन र एनेस्थेस्थियासिस्टको जनशक्तिबाट सेवा सुरु भएपछि हर्निया, हाइड्रोशीलको पनि शल्यक्रिया सेवा सुरु भएको छ ।
अस्पतालले अहिले फिजियोथेरापी र मानसिक रोगको पनि उपचार सेवा सुरु गरेको छ । नियमित सेवा समयभन्दा पछि पनि अस्पतालले विशेषज्ञ चिकित्सकद्वारा सेवा दिन सुरु गरेको छ ।

यी सबै कारणले गोरखा अस्पतालले पछिल्लो समय नागरिकको मन जितेको छ । अस्पतालको सेवाले सर्वसाधारण नागरिकलाई सजिलो भएको छ । जिल्लामै उपचार सेवा पाएका छन् । यो अवस्थामा अस्पतालका स्वास्थ्यकर्मी, ब्यवस्थापन समिति लगायत टिमलाई अझै सेवा बिस्तार गर्न सक्षम बनाउन, चिकित्सकलाई सेवा प्रति उत्प्रेरित गराउन सरोकारवाला र आम सर्वसाधारणले सहयोगीको भुमिका खेल्नुपर्ने बेला भएको छ । यसले दिगो फाईदा गोरखाबासीलाई मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्