| मङ्लबार, कार्तिक २४, २०८३

निर्वाचनबारे अन्यौल सिर्जना हुने अभिव्यक्ति नदिन आयोगको आग्रह

निर्वाचनका विषयमा अन्यौलता सिर्जना हुने अभिव्यक्ति नदिन निर्वाचन आयोगले आग्रह गरेको छ।

बिहीबार नियमित पत्रकार सम्मेलनमा आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले संशय व्यक्त नगर्न आग्रह गरेका हुन्।

उनले स्थानीय तहको चुनाव निर्धारित समय अर्थात् वैशाख ३० मै हुने बताए।

‘निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारी तीव्रताका साथ अन्तिम चरणमा पुगेको छ। निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्ति राजनीतिक दलका जिम्मेवार नेता एवं कार्यकर्ताबाट आएकोप्रति आयोगको ध्यानाकर्षण भएको छ,’ उनले भने,‘निर्वाचनका विषयमा अन्यौलता सिर्जना गर्ने खालका यस्ता अभिव्यक्ति नदिनु हुन सरोकारवाला सबैलाई आयोग आग्रह गर्दछ।’

शर्माले चुनावका लागि आयोगले एक करोड ९४ मतपत्र छाप्न लागेको जानकारी दिए। त्यसमध्ये ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छापिसकेको प्रवक्ता पौडेलले बताए।

उनका अनुसार जनक शिक्षा केन्द्रबाट दैनिक सरदर आठ लाख थान मतपत्र छाप्ने काम भइरहेको छ।

स्थानीय तह निर्वाचनसम्बन्धी गतिविधि र सूचनाको सहजरूपमा जानकारी दिन आजबाट हरेक दिन आयोगले स्थानीय तह निर्वाचन इबुलेटिन प्रकाशन गर्ने भएको छ। बुलेटिन आयोगको बेवसाइटमा उपलब्ध हुनेछ।

पर्यवेक्षण गर्न आयोगमा ६५ वटा संस्थाबाट निवेदन परेको छ। ती संस्थाहरूबाट प्रस्तावित पर्यवेक्षकको संख्या २० हजार ४६७ रहेकोमा पुरूष ११ हजार ६९४, महिला ८ हजार ४८२ र अन्य २९१ जना रहेको प्रवक्ता पौडेलले बताए।

निवेदनमाथि जाँचबुझ गरी आयोगले पर्यवेक्षण अनुमतिसम्बन्धी निर्णय गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्