
गठबन्धनको असमञ्जस गाँठो
मिल्नु र जुध्नुमा गहिरो भेद छ । मिल्दा धेरै सुख र जुध्दा धेरै दुख प्राप्त हुन्छ । यद्यपि कतिपय अबस्थामा मिल्दा दुख र जुध्दा सुख पनि प्राप्त हुन्छ तर मिल्दा प्राप्त हुने सुख र जुध्दा प्राप्त सुखमा अन्तर छ ।
लोकतान्त्रिक शक्ति र बामपन्थी शक्ति चुनावी तालमेल गर्नु अप्राकृतिक हो । यद्यपि कतिपय स्वार्थ मिलेका कारण अप्राकृतिक अबस्थामा पनि तालमेल भएको छ । माओवादीका कार्यकर्ता पनि अप्राकृतिक तालमेलसित कम्फर्टेबल अनुभूति गरिरहेका छैनन्, कांग्रेस कार्यकर्ताभित्र पनि तीब्र बिरोध छ ।
बाम(गठबन्धन बीच तालमेल बिगतदेखिकै अभ्यास थियो । बिचार मिल्ने हुँदा बाम गठबन्धन प्राकृतिक हुने, बिगतमा मुख्य दुश्मनका रुपमा रहेका पार्टी बीच गठबन्धन गर्नु अनुचित हुने माओवादी कार्यकर्ताको तर्क छ । तेस्रो शक्तिसित गठबन्धन गरेर प्रमुख प्रतिस्पर्धीसित चुनाव लड्नु मनासिब हुने, बिगतको चुनावमा पनि कम मतान्तरमा हार बेहोरेकाले गठबन्धन जरुरी नरहेको माओवादी कार्यकर्ता वृत्तमा टिप्पणी छ ।
बिगतमा तिक्त सम्बन्ध रहेको, बिगतको चुनावमा पनि नौ वटा पालिकामा आफूहरुको जीत रहेको र अहिले अझै संगठन सुदृढ रहेको तर्क गर्दै माओवादीसित गठबन्धन गर्न कांग्रेस कार्यकर्ता खुशी छैनन् । गठबन्धन गर्दा मिहिनेत गरेर आर्जन गरेको सफलता गुमाउनु पर्ने, भर्खर पार्टी प्रवेश गरेका कार्यकर्ताले भर्खर त्यागेको पार्टीको चुनाव चिन्हमा भोट हाल्न मुस्किल हुने लगायतका गुनासो कांग्रेसमा छ ।
त्यस्तै बाहिरि रुपमा गठबन्धन भने पनि भित्र इमान्दारिता प्रदर्शन नहुने दुवै पार्टीमा आशंका छ । असमञ्जसै असमञ्जसमा यी दुई शक्ति बीच चुनावी तालमेल हुँदैछ । तालमेलकै कारण ठूलो संख्याका मतदाता भोट हाल्न नजाने, भोट हाल्न गए पनि बदर हुने गरी मतदान गर्ने सम्भावना धेरै छ । यो असजिलो गाँठोप्रति सम्बन्धित पार्टीहरु संवेदनशील हुनु जरुरी छ ।




