| सोमवार, कार्तिक २३, २०८३

देशको भन्दा पार्टीकै स्वार्थ माथि

काले–काले मिलेर खाउँ भाले भन्ने नेपालीमा उखान छ ।

उपरोक्त उखान नेपाली राजनीतिमा बारम्बार प्रमाणित हुने गरेको छ । अहिलेको चुनावमा पनि यो उखान सार्थक हुने भएको छ । आरोप कुनै एक मात्र राजनीतिक पार्टीलाई होइन, किनभने देश समुन्नत गर्न भन्दा चुनाव जित्ने तिकडममा मात्र पार्टीहरुको अलमल छ ।

अहिले नेपालको अर्थतन्त्र नाजुक अबस्थामा गुज्रिरहेको छ । श्रीलंकाको बाटोमा नेपाल छ । अर्थमन्त्रालयले वुद्धिमतापूर्ण काम नगरेको आरोप विज्ञहरुको छ । यसको असर कुनै एक वा दुई राजनीतिक पार्टीलाई मात्र पर्ने होइन, आम नेपाली र नेपाललाई नै पर्ने हो । तर यसका बारेमा कुनै राजनीतिक पार्टीले एजेण्डा उठाएको छैन ।

बिग्रिँदो अर्थतन्त्रका बारेमा कुनै राजनीतिक पार्टीभित्र छलफल र बहश भएको खबर सुनिएको छैन । संकटासन्न अर्थतन्त्रलाई कसरी सुदृढ गर्ने भन्ने बारेमा बहश गर्न र कदम चाल्न ढिला भइसकेको छ तर कुनै राजनीतिक पार्टी वा तिनका नेताले यस बारेमा गम्भीर बहश उठाएका छैनन् । कुरा उठाएका छन् त केबल कुनै पालिकामा कसरी तालमेल गरेर चुनाव जित्ने भन्ने बारेमा मात्र । यसको नतिजा के होला ?

संकटको संघारमा पनि संकट टार्ने विधि प्रक्रियाको खोजी भएको छैन, तर राजनीतिक पार्टी बीच भरतपुर महानगर पालिकामा कुन पार्टीको पोल्टामा हाल्ने वा अन्य महानगर पालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका कसलाई दिने ? भन्नेमै गरमागरम बहश छ ।
कांग्रेस र माओवादीका विरुद्ध मात्र यस्तो बहश होइन, यदि तालमेलको रिङबाट यी दुईमध्य कुनै एक दल बाहिरिए भने पुन एमालेसित मिलेर कुनै अर्को दलले तालमेल मिलाईहाल्छ । यसले देशको भन्दा आफ्नै पोल्टो भर्ने मात्र चिन्तन भएको पुष्टि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्