| मङ्लबार, कार्तिक २४, २०८३

पालिकाको केन्द्र रहेकै ठाउँमा निर्वाचन अधिकृतको कार्यालय रहने

गोरखाका स्थानीय तहहरुको केन्द्र रहेको ठाउँमा पालिकास्तरीय निर्वाचन अधिकृतको कार्यालय रहने भएको छ । समान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुलाई पत्राचार गर्दै गाउँपालिकाको प्रशासकीय भवन रहेको ठाउँमा वा आसपासको सार्वजनिक भवनमा मतदान अधिकृतको कार्यालय स्थापनामा सहयोग गर्न निर्देशन गरेको हो ।

गोरखाका सबै स्थानीय तहले जिल्ला निर्वाचन कार्यालयलाई उक्त विषयमा जानकारी पठाइसकेका छन् । पहिलो प्राथमिकता पालिकाको कार्यालय, दोस्रो सार्वजनिक वा सरकारी भवन यी दुबै नभएको खण्डमा भाडाको घरमा भएपनि कार्यालय संचालन गर्ने तयारी निर्वाचन कार्यालयको छ ।

आयोगले ११ वटै पालिकामा निर्वाचन अधिकृत तोकिसकेको छ । अधिकृतहरुको चैत ३० गते तालिम हुनेछ । बैशाख ८ गते सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय संचालन भइसक्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर कोईरालाले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालय पनि बैशाख पहिलो साता खुल्नेछ ।

निर्वाचन नजिकिँदै गर्दा मतदाता शिक्षा भने अझै सुरु भएको छैन । गोरखास्थित निर्वाचन कार्यालयमा अहिलेसम्म मतदाता शिक्षाको कुनै कार्यक्रम नआएको कार्यालय प्रमुख कोईरालाले बताए । मतदाता शिक्षाको कमीले यस अघि २०७४ को स्थानीय निर्वाचनमा करिब चार प्रतिशत मत बदर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्