
वडाअध्यक्षका आकांक्षीको नाम सिफारिस गर्दै दलहरु
स्थानीय तहको निर्वाचन आउन अब ४० दिन बाँकी छ । दलहरु अहिले वडाअध्यक्ष तथा वडा सदस्यका आकांक्षीहरुको नामावली संकलनमा लागेका छन् । निर्विवाद हुने ठाउँमा पालिकाका प्रमुखका आकांक्षीको नामावली समेत दलहरुले तयार गरिसकेका छन् ।
कतिपय ठाउँमा कतिपय पार्टीका वडाअध्यक्ष पदको आकांक्षी पनि निर्विवाद भएका छन् । अझै कतिपय वडामा सबै पार्टीको साझा उम्मेद्वार समेत फाइनल भइसकेको छ । घोषणा हुन मात्र बाँकी छन् । तैपनि रात रहे अभ्रख पल्हाउँछ भनिन्छ ।
एकातिर दलहरु चुनावी तालमेलमा कम्मर कसेर लागेका छन् । दिनहूँजसो सत्ता गठबन्धन दलको संयुक्त बैठक बस्ने गरेको छ । अनौपचारिक बार्ता, छलफल भइरहेका छन् । अर्कातिर दलहरुले आफ्ना–आफ्ना उम्मेद्वारका आकांक्षीको नाम संकलन पनि गरिरहेका छन् । यसले तालमेलमा अविश्वासको वातावरण छ भन्ने संकेत गर्छ ।
वडाअध्यक्षको आकांक्षीको नाम नै यति धेरै छन् कि, नेतृत्वलाई साझा उम्मेद्वार बनाउन नै धौ पर्नेवाला छ । सदस्यका आकांक्षी पनि उत्तिकै छन् । एउटै पार्टीभित्र यति धेरै आकांक्षी छन्, तालमेल गर्ने भनेपछि झन सकस हुनेवाला छ ।
तालमेलका कारण धेरैजनामा असन्तुष्टि छ । यत्तिका समय राजनीति गरेर चुनावमा प्रतिस्पर्धा गर्ने बेला तालमेल गर्दा प्रतिस्पर्धाबाट बञ्चित हुनु पर्दा उनीहरुमा असन्तुष्टि पैदा भएको हो । तथापि उम्मेद्वाको आकांक्षीको नाम संकलन र तालमेलको गृहकार्य एकैसाथ अघि बढिरहेको छ ।
जे जसरी नाम संकलन गरे पनि निर्वाचन आयोगको मार्गदर्शन अनुसार योग्य उम्मेद्वार चयन होउन् । ठेकेदार तथा अन्य व्यवसाय गर्नेहरुलाई प्रतिस्पर्धाबाट बञ्चित गर्न आनकानी गर्नुहुदैन । त्यस्तै समाजमा असल छवि नभएकाहरुलाई पनि अघि बढाउनु हुदैन । जसले असल जनप्रतिनिधि चयन हुनेछन् ।




