
शिक्षक परीक्षामा जाँदैमा विद्यालय बन्द !
सुदूर उत्तरी चुमनुब्री गाउँपालिकाको एक मात्र माध्यमिक तहको विद्यालय वुद्ध मावि अहिले बन्द छ । अधिकांश शिक्षकहरु शिक्षक सेवा आयोगको परीक्षा दिन गएपछि विद्यालय एक हप्ताका लागि बन्द भएको हो ।
सो विद्यालय अब चैत २१ गतेबाट मात्र सञ्चालन हुने विद्यालयले जानकारी दिएको छ ।
वुद्ध मावि मात्र होइन, शिक्षक सेवा आयोगको परीक्षा दिन शिक्षकहरु पोखरा गएका कारण गोरखाका अरु धेरै विद्यालय पनि बन्द छन् । सदरमुकामकै महेन्द्रज्योति, नवज्योति मावि पनि मंगलबार बन्द भए । अझै परीक्षा हुने दिनहरु १७, १८, २१ गते पनि विद्यालय बन्द हुँदैछन् ।
फरक यत्ति हो कि, सिर्दिबास सदरमुकामबाट टाढा भएकाले जाने आउने बाटो म्यादका कारण पनि धेरै दिन विदा भएको हो ।
अन्य कार्यालयका कर्मचारीहरु पनि लोकसेवा आयोग तथा बढुवाको परीक्षा दिन जानु पर्दा विदा लिन्छन् । एउटै कार्यालयका धेरै कर्मचारी परीक्षा दिन गए पनि कार्यालय भने बन्द हुँदैनन् तर विद्यालय बन्द गर्नुपर्ने अबस्था आउँछ । किनभने सबै कार्यालयहरुमा सेवाग्राहीको चाप हुँदैनन् । आक्कलझुक्कल आउने सेवाग्राहीलाई फिर्ता गरिदिन्छन्, कार्यालय खोलेर बस्छन् ।
तर विद्यालयमा यस्तो चल्दैन । सयौँ जना विद्यार्थीहरु हुन्छन् । शिक्षक नहुँदा उनीहरुलाई कक्षाभित्र थुनेर राख्न मिल्दैन त्यसैले विदा गर्न विद्यालय बाध्य हुन्छन् । तथापि विद्यालयले पालिकास्थित शिक्षा कार्यालय, विद्यालय व्यवस्थापन समितिको सुझाव र समन्वयमा विदा गर्नुपर्नेमा त्यसो गरेको पाइँदैन । अर्थात वैकल्पिक शिक्षकहरुको व्यवस्था गरी विद्यालय सुचारु गर्न सकेको पाइँदैन । अर्थात सबै कक्षा बन्द नगरेर केही मात्र सञ्चालन गर्न पनि सकिन्थ्यो कि ? बिकल्पहरुको प्रयोग गर्नुपथ्र्यो कि ?




