| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा नगरपालिकामा गर्भवती महिलाहरुका लागि अल्ट्रासाउण्ड अभियान

गोरखा नगरपालिकामा गर्भवती महिलाहरुका लागि ग्रामीण अल्टूासाउण्ड कार्यक्रम सुरु गरिएको छ । नगरपालिका वडा नम्बर १ ताप्लेमा सोमबार नगरप्रमुख राजनराज पन्तले ग्रामीण अल्टूा साउण्ड कार्यक्रम सुरु गरेका हुन् ।

नगरपालिकामा मातृशिशु मृत्युदर र शिशु मृत्युदरलाई न्यूनीकरण गर्न र गर्भवती महिलाहरुको स्वास्थ्य नियमित रुपमा चेकजाँच गर्न वडामा पुगेर भिडियो एक्सरे सेवा सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

सोहि कार्यक्रम अन्तर्गत सोमबार वडा नं १ ताप्लेमा रहेको ताप्ले स्वास्थ्य चौकीबाट कार्यक्रम सुरु गरिएको हो । अब नियमित रुपमा नगरपालिका भित्रका १४ वटै वडामा उक्त सेवा संचालन हुने नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले बताए ।

नगरपालिकाबाट खटिएको मेडिकल अधिकृत र तालिमप्राप्त नर्सको टिमले उक्त सेवा दिनेछन् । नगरपालिकाले तय गरेको समय तालिका अनुसार प्रत्येक वडामा गर्भवती महिलाहरुको निशुल्क स्वास्थ्य चेकजाँच गरिने उनले बताए । सोमबारको शिविरमा १० जना महिलाले सेवा लिएका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले बताए ।

गर्भवती महिलाको पेटमा भएको बच्चाको अवस्था थाहा पाउन, सयमअनुसार गर्भभित्रको बच्चाको वृद्धि विकास भएको छ कि छैन भन्ने बुझ्न र आमा र बच्चाको स्वास्थ्य अवस्था पहिचान गर्न भिडियो एक्सरेबाट सजिलो हुने उनले बताए ।

गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थासम्म भिडियो एक्सरे गर्न जान समस्या हुने हुँदा वडामै निशुल्क सेवा प्रदान गरिएको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले बताए । ‘यो सेवा सबै वडामा सञ्चालन हुनेछ’, उनले भने, ‘यसले स्वस्थ बच्चाको जन्म हुने र वृद्धि विकासमा पनि सहयोग पुग्नेछ ।’

प्रतिक्रिया दिनुहोस्