| सोमवार, कार्तिक २३, २०८३

वृद्धभत्ता हिनामिना प्रमाणित भएमा कडा कारबाही होओस्

सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धानले तत्कालीन मुच्चोक गाविसका सचिव दीपकबहादुर दर्जी लगायत चारजनाविरुद्ध विशेष अदालत काठमाण्डौँमा मुद्दा दर्ता गरेको छ ।

साविक हंसपुर र मुच्चोक गाविस हाल अजिरकोट गाउँपालिका वडा नम्बर ३ र ५ का वडा सचिव दर्जी, हेल्थ असिस्टेन्ट सुरेश दवाडी, तत्कालिन कार्यालय सहयोगी बिशाल बिक र साविक मुच्चोक गाविसका अहेब चन्द्रकान्त सुवेदीविरुद्ध मुद्दा दर्ता गरेको हो । उनीहरुले तत्कालिन जिल्ला विकास समितिमा सामाजिक सुरक्षा भत्ताको तेस्रो किस्ताको हिसाब नबुझाएको भेटिएको हो ।

सामाजिक सुरक्षा भत्ता बितरण गर्नका लागि चेकमार्फत रकम लिएको तर बितरण नगरेको अख्तियारले जनाएको छ । भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार निजहरुले कसुर गरेको पुष्टि भएकाले दर्जीलाई ६० लाख ९७ हजार छसय रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
२०७४ साल साउन ३ गते वडा अध्यक्ष तयराज गुरुङसँग तीन दिनको बिदा लिएर हिँडेका दर्जी अहिलेसम्म सम्पर्कमा छैनन् ।

सामाजिक सुरक्षा भत्ता वैँकमार्फत वितरण गर्नुपर्नाको मुख्य कारण यही हो कि, कर्मचारीहरुले फर्जी कागजात बनाएर मरेको मान्छेको नाममा भत्ता झिकेर भ्रष्टाचार गर्ने गर्थे । अब प्राय सबै पालिकाले सेवाग्राहीहरुको नाममा वैँक खाता सञ्चालन गरेको छ । सामाजिक सुरक्षा भत्ता वैँक खातामा नै जम्मा गरिदिने गाउँपालिकाहरुले व्यवस्था गरेको छ । उनीहरुको बर्षेनी केवाइसी अद्यावधिक गर्ने व्यवस्थाले गर्दा अब फर्जी कागजात बनाएर भत्ता हिनामिना गर्ने सम्भावना अन्त्य भएको छ ।

यस घटनामा पनि जो दोषी प्रमाणित हुनेछ, उसलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ । यस्तो कारबाही, जसका कारण अरुले पनि यस्ता रकम हिनामिनाका घटना घटाउन निरुत्साहित बनून् ।

प्रतिक्रिया दिनुहोस्