
कौदीका चेपाङसित आयआर्जनको पाठ सिकौँ
चेपाङ भन्नासाथ आम जनमानसमा अतिविपन्न समुदाय भन्ने छाप छ । तर समय बदलिँदै छ । चेपाङ समुदाय पनि अब अर्काको खेतबारीमा निमेक मात्र होइन, कुल्ली, ज्यालामजदुरीमा मात्र होइन, अब आफ्नै व्यापार, बिजनेशमा पनि लागिसकेका छन् ।
गोरखा, धादिङ, चितवन र मकवानपुर जिल्लामा चेपाङ समुदायको बसोबास छ । जीवनशैली अध्ययन गर्दा अरु जिल्लाका भन्दा गोरखाका चेपाङ समुदाय सम्पन्न छन्, शिक्षित, सभ्य छन् । त्यसमा पनि गण्डकी गाउँपालिका वडा नं. ६ हिक्लुङ, कौदी, थुम्काका चेपाङहरु व्यवसायिक तरकारी खेती गर्छन् । त्यसबाट उनीहरुले बर्षमा लाखौँ रुपैयाँ आम्दानी गर्छन् ।
राजमार्ग छेउछाउ बसोबास गर्ने गोरखाका चेपाङ समुदायको आर्थिकस्तर तरकारी खेतीले माथि उठ्दैछ । उनीहरु तीन सिजनसम्म मौसमी वा बेमौसी तरकारी खेती गर्छन् । काँक्रो, गोलभेँडा, भिँडी, घिरौँला, तनेबोडी लगायतका तरकारी उत्पादन गरी फिस्लिङ पु¥याउँछन् । त्यहाँ काँटावालाहरुले किनेर कालीमाटी तरकारी बजार पु¥याउँछन् । यसरी तरकारीखेतीबाट त्यस क्षेत्रका चेपाङ समुदायले बार्षिक पाँचलाख रुपैयाँको हाराहारीमा कमाइ गर्छन् ।
उनीहरुको अबस्था सुधार गर्न लिबर्ड नामक सामाजिक संस्थाले तालिम, प्रशिक्षणलगायतका सहयोग गरेको थियो । त्यसबाट प्रेरित भएर उनीहरु आयआर्जनमा लागेका हुन् । उनीहरुको सुध्रिँदो अबस्थालाई मध्यनजर गरी अन्य ठाउँका चेपाङ समुदाय पनि ज्याला मजदुरी संस्कृतिबाट व्यवसायिकतातिर लाग्नु जरुरी छ ।
अझै पनि विभिन्न गाउँबस्तीका चेपाङ समुदाय अरुको ज्याला मजदुरी गरेर धेरथोर कमाउने, कमाएको जति फुर्मास गरेर सिध्याउने जसका कारण अबस्था ज्यूँकात्यूँ हुने गर्छ । सयौँ बर्षदेखिको यो अबस्था अन्त्यका लागि अब चेपाङ समुदायका अगुवाहरुले आयआर्जनका कार्यक्रमलाई गाउँटोल, जनजनमा पु¥याउनु पर्छ । त्यहाँको शिक्षा, स्वास्थ्य, जनचेतनाको स्थिति पनि सुधार गर्नुपर्छ । तब पछाडि पारिएको सो समुदायले बर्षौँदेखि खेप्दै आएको गरिबी, बिपन्नताको अबस्थाबाट मुक्ति पाउनेछन् ।




