
गोरखा अस्पतालद्वारा ब्यवस्थापन समितिका पदाधिकारीलाई स्वागत
गोरखा अस्पतालले नवनियुक्त अस्पताल विकास समितिका पदाधिकारीलाई स्वागत गरेको छ । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले केही दिनअघि अस्पताल ब्यवस्थापन समितिमा नयाँ नेतृत्व मनोनित गरेर पठाएको थियो ।
अध्यक्ष लालप्रसाद श्रेष्ठसहित सदस्यहरु श्रवणकुमार जोशी, पूर्णमाया वन्त, पुष्पादेवी श्रेष्ठ, शोभा लामिछाने, अमृत बिकलाई अस्पतालले मंगलवार एक कार्यक्रम गरी स्वागत गरेको हो ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर हरिकुमार श्रेष्ठको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको प्रमुख आतिथ्यतामा स्वागत कार्यक्रम भएको हो । प्रमुख जिल्ला अधिकारी आचार्यले सबैको सामुदायिक सहयोगबाट अस्पतालको सेवा अझै बिस्तार गर्न सकिने बताए ।
कार्यक्रममा माओवादी केन्द्रका जिल्ला समन्वय सदस्य कृष्ण राना, जनता समाजवादी पार्टी गोरखाका उपाध्यक्ष सुकेदव तामाङ, राप्रपाका प्रवक्ता ठाकुरप्रसाद लामिछाने, एकीकृत समाजवादीका जिल्ला सदस्य विद्या अर्याल, पत्रकार महासंघका अध्यक्ष नरहरि सापकोटा, अस्पतालकी ब्यवस्थापक लिपासा श्रेष्ठलगायतले मन्तब्य राखेका थिए ।
अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले समितिले अस्पताललाई राम्रो बनाउन गर्नुपर्ने सबै सहयोग गर्ने बताए । ब्यवस्थापन समितिका सदस्य श्रवणकुमार जोशीले ब्यवस्थापन समितिले नीति नियम बनाईदिने र त्यसको कार्यान्वयन अस्पतालका कर्मचारी, चिकित्सकले गर्नुपर्ने बताए । कार्यक्रमको सहजिकरण अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले गरेका थिए ।
सहभागी सबैले गोरखा सदरमुकाममा रहेको ५० शैयाको गोरखा अस्पतालको सेवालाई अझै बिस्तार गर्नुपर्ने, गरिब जनतालाई निशुल्क सेवा प्रदान गर्नुपर्ने, विषेशज्ञ जनशक्ति ल्याउन सबैको पहल हुनुपर्ने विषयमा ध्यानाकर्षण गराएका थिए ।
२०६९ सालमा ५० शैया बनेको गोरखा अस्पतालमा अहिले सुबिधा सम्पन्न भवन छ तर त्यहाँ प्राय विशेषज्ञ दरबन्दी रिक्त हुनु, उपचारका आधुनिक उपकरण पर्याप्त नहुँदा सबै सेवा प्रभावकारी बन्न सकेको छैन । बालरोग, दन्तरोग र स्त्री तथा प्रशुती रोग विषेशज्ञ भएकाले अहिले भने यी सेवा सहज भएको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए ।




