
निशुल्क स्वास्थ्य शिविरबाट चार सय भन्दा बढीले सेवा लिए
सिरानचोक गाउँपालिकामा भएको वृहत निशुल्क स्वास्थ्य शिविरमा चार सय भन्दा बढीले स्वास्थ्य चेकजाँच गरेका छन् । शनिबार गाउँपालिकाको वडा नं ५ स्थित जनकल्याण प्राविको थुम्कीमा आयोजित स्वास्थ्य शिविरमा स्थानीय चारसय ३९ जनाले स्वास्थ्य लाभ लिएका हुन् ।
गाउँपालिकाको अनुरोधमा कर्मा फ्लाइट फाउन्टेशन पोखराको सहयोगमा वृहत स्वास्थ्य शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए । स्वास्थ्य संस्थासम्म पहुँच नभएका र आर्थिक अवस्था कमजोर भएका स्थानीयहरुलाई लक्षित गर्दै वृहत निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको उनले बताए । उनीहरु मध्ये ९० जनाको भिडियो एक्सरे, ९३ जना ल्याव परीक्षण गरेका छन् । त्यस्तै, शिविरमा चेकजाँचको क्रममा ४ लाख ५० हजार बराबरको औषधी समेत वितरण गरिएको छ ।
सोही कार्यक्रमकै अवसरमा एकीकृत घुम्ती शिविर समेत संचालन गरेका थिए । स्वास्थ्य सेवा, पशु सेवा, कृषि महिला तथा बालबालिकाका लागि एकीकृत घुम्ती शिविर संचालन गरिएको थियो । उक्त शिविरबाट एकसय ३३ जनालाई पशु सेवा औषधी, तीनसय ५० जनालाई बीउविजन विरतण गरिएको उनले बताए । त्यस्तै पाँच जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको उनले बताए ।




