
घुम्तिऐनाको बिजोग
एउटा कार्यालय प्रमुखले सुरु गरेको काम कार्यालय प्रमुख फेरिएपछि निरन्तरता नपाउने परम्परा फेरि एकफेर सम्झना आउँछ । यतिसम्म कि एउटा कार्यालय प्रमुखले सुरु गरेर सरुवा भएपछि नयाँ कार्यालयले प्रमुखले त्यसको संरक्षणसम्म पनि नगरेको पाइन्छ ।
जसरी एउटा पार्टीको सरकारले सुरु गरेको काम सरकार फेरिएपछि त्यसलाई निरन्तरता नदिएर तुहाइदिने परम्परा छ, त्यसैगरी कार्यालय प्रमुख फेरिएपछि बिगतका कार्यालय प्रमुखले थालेको कामलाई तुहाइदिने परम्परा छ ।
सबैलाई हितहुने राम्रो काम, जनमुखी काम जसले सुरु गरेको भए पनि निरन्तरता दिनु मानवीय दायित्व हो । श्रेय चाहे जोसुकैलाई जाओस्, आम हितकारी कामलाई निरन्तरता दिनुपर्छ ।
एउटा टूाफिक कार्यालय प्रमुख आउँदा गोरखा, आँबुखैरेनी सडकमा ठाउँठाउँमा घुम्ति ऐना स्थापना गर्छ, उ गएपछि न अन्य ठाउँमा थप्ने काम हुन्छ, न स्थापना गरिएका घुम्तिऐना थप गर्ने काम हुन्छ । यो दुखको कुरा हो ।
घुम्तिऐना हाम्रो जस्तो पहाडी सडकका लागि अति उपयोगी छ । यसले घुम्तिमा दुर्घटना न्यूनिकरण गर्न धेरै सघाउँछ । घुम्तिमा उभ्याइएको ऐना हेर्दा घुम्तिको पछाडिबाट अर्को सवारी साधन आए नआएको जानकारी मिल्छ । रातका बेला झन सो ऐना उपयोगी हुन्छ । घुम्ति पछाडिबाट आएको सवारीसाधनबाट सजग र सचेत भएर सवारी चलाउन सकिन्छ, जसले गर्दा घुम्तिमा न हर्न बजाउनुपर्छ, न ठोक्किने दुर्घटना हुन पाउँछ ।
अहिले गोरखा आँबुखैरेनी सडकमा आधादर्जन भन्दा धेरै घुम्तिऐनाहरु बिग्रिएका छन् । तिनलाई मर्मतसम्भार गर्नु टूाफिक प्रहरीको दायित्व हो । स्रोत जुटाउनका लागि नगरपालिका, गाउँपालिका कार्यालय तथा गैरसरकारी संस्थाहरु छन् । अर्थात जो कोही सहयोगी छन् । सहयोग जुटाउन टूाफिक प्रहरी कार्यालयको सक्रिताको खाँचो छ ।




