
लाप्राकमा दुई दिने आचार बनाउने तालिम सकियो
धार्चे गाउँपालिका ४ को एकीकृत नमूना बस्तीमा दुईदिने आचार बनाउने तालिम सकिएको छ । लुथरन वर्ड फेडेरेसनको आर्थिक सहयोगमा सहयोगी सहयोगी हातहरुको समूह (सहास) नेपाल पहिरोबाट प्रभावित जनताको खाद्य सुरक्षा र जीविकोपार्जन सुधार परियोजनाको आयोजना र चितवन उद्योग संघ औद्योगिक पाठशालाको सहकार्यमा दुई दिने आचार बनाउने तालिम सम्पन्न भएको हो ।
घरेलु प्रयोजनका लागि अचार निर्माण तालिममा आफ्नै गाउँघरमा सजिलै उपलब्ध हुनसक्ने सामाग्रीहरुको प्रयोग गरी अचार बनाउने सिप सिकाइएको लाप्राक नमूना बस्ती सामुदायिक होमस्टेका संयोजक दलविर गुरुङले बताए । तालिममा लाप्राक नमूना बस्ती सामुदायिक होमस्टेका २५ जना महिला सहभागिता रहेको थियो ।
सो तालिममा मिक्स अचार, मुलाको अचार, गोलभेंडाको अचार, करेलाको अचार, कुखुराको मासुको अचार, मेथीको अचार, माछाको अचार, गुन्दु्रकको अचार, टिम्बुरको अचार, कागतीको अचार गरी विभिन्न १० थरीका अचार बनाउने तरिका सिकाइएको थियो । तालिममा मुख्य प्रशिक्षक सुस्मिता थापा र सहायक प्रशिक्षक अनु बुढाथोकीले प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिएकी थिइन् ।
तालिमको अवसरमा सहास नेपालका परियोजना अधिकृत नविन धितालले परियोजनाको बारेमा र कृषि प्राविधिक मुना घिमिरेले तालिमको बारेमा जानकारी गराइका थिए ।
त्यस्तै तालिममा सहकार्य गरेको चितवन उद्योग संघको तर्फबाट संघका कार्यक्रम अधिकृत विकास भट्टले संघले सञ्चालन गरिरहेको औद्योगिक पाठशाला र लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित उपजको बिक्री केन्द्रको बारेमा जानकारी गराएका थिए ।
त्यसैगरी लाप्राक नमूना बस्ती सामुदायिक होमस्टेका संयोजक दलविर गुरुङ नमूना वस्ती तहाँ सञ्चालनमा रहेको आकर्षणको केन्द्रविन्दु होमस्टेका वस्तुस्थितिको बारेमा जानकारी गराए ।




