
मतदाता नामावलीमा नाम भए र नभएको कसरी हेर्ने ?
स्थानीय निकायको चुनाव नजिकिएसँगै मतदाता परिचयपत्र हराएर पुनः बनाउनुपर्ने भएमा वडा कार्यालयको सिफारिस चाहिने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले मंगलबार एक सूचना जारी गरी मतदाता परिचय पत्र पुनः बनाउनुपरेमा वडा कार्यालयको सिफारिससहित प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने जनाएको छ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार यस्तो निवेदन मतदाता स्वयं उपस्थित भएर वा इमेल, फ्याक्स वा अन्य विधिबाट दिन सकिनेछ ।
आयोगले मतदाता परिचय पत्र पुन बनाउनका लागि निशुल्क सिफारिस दिन स्थानीय तहलाई परिपत्र गर्ने निर्णय गरेको छ ।
त्यस्तै वडा कार्यालयको सिफारिससहित निवेदन दिएमा इमेल, फ्याक्स वा अन्य विधिबाट दिएको निवेदन पनि स्वीकार गर्न आयोगले प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।

पहिला दर्ता भएको आफ्नो नाम मतदाता नामावलीमा छ या छैन भनेर हेर्नको लागि निर्वाचन आयोगले अनलाइन मार्फत हेर्न मिल्ने बनाएको छ । २०७७ पुस ०५ गते सम्म १८ वर्ष उमेर पुरा भएका मतदाताको अन्तिम मतदाता नामावली यसमा राखिएको छ । पछि नामावली संकलन गरिएको व्यक्तिहरुको भने वेबसाइटमा अपडेट गर्न बाँकी रहेको आयोगले जनाएको छ ।
यदि तपाईको मतदाता नामावली संकलन २०७७ पुष ५ अघि भएको हो भने निर्वाचन आयोगको वेबसाइटमा गएर आफ्नो नाम सूचीकरण भए नभएको हेर्न सक्नुहुन्छ । आफ्नो मतदाता नामावलीमा जानकारी थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।




