| सोमवार, कार्तिक २३, २०८३

‘इएचएस’ अस्पताल र बिरामी दुवैका लागि लाभदायक

सरकारी अस्पताल बिरामीका लागि बिहान १० बजेदेखि दुईबजेसम्म सञ्चालन हुन्छ । यदि कोही सो समयपछि बिरामी भए भने नीजि अस्पताल, क्लिनिक जान बाध्य हुन्छन् ।

कोही पनि मान्छे १० बजेदेखि दुईबजेसम्म मात्र बिरामी हुने होइनन् । को कतिबेला बिरामी पर्छ कसैलाई पूर्वानुमान हुँदैन । त्यसैले अस्पतालको नियमित समयभन्दा पछि बिरामी हुनेलाई पनि सेवा दिनका लागि राजधानीका ठूला सरकारी अस्पतालले धेरै पहिलेदेखि विस्तारित स्वास्थ्य सेवा(इएचएस) सञ्चालन गर्दै आएका छन् ।

कुनै अस्पतालले पेइङ क्लिनिक भनेर, कुनै अस्पतालले बिस्तारित स्वास्थ्य सेवा(इएचएस) भनेर यो सेवा सञ्चालन गरेका हुन् । गोरखा अस्पतालले भने विस्तारित स्वास्थ्य सेवा भनेर सञ्चालन गरेको छ ।

इएचएसको अवधारणा २०७५ सालदेखि सुरु भएको हो । स्वास्थ्य मन्त्रालयले आवश्यक पूर्वाधार जुटाएर आजभन्दा तीनबर्षअघि नै इएचएस सेवा सञ्चालन गर्न गोरखा अस्पताललाई पनि पत्राचार गरेको थियो तर भवन, जनशक्ति, उपकरण लगायतका पूर्वाधारको अभावले अस्पतालले यो सेवा सञ्चालन गर्न अलमल गरिरहेको थियो ।

अहिले फागुन १ गतेदेखि गोरखा अस्पतालले इएचएस सेवा सुरु गरेको छ । अर्थात गोरखा अस्पतालमा अब तीनबजेदेखि पाँचबजेसम्मको अतिरिक्त समयमा पनि विशेषज्ञ चिकित्सकले स्वास्थ्य सेवा दिन्छन् । तर यसबापत बिरामीले रु चारसयको टिकट काट्नु पर्ने हुन्छ । जबकि नियमित समय(१०(२ बजे) उपचार सेवा लिन रु ३० को टिकट काटे हुने थियो । इएचएस सेवा लिनका लागि चारसय रुपैयाँको टिकट काट्नु पर्ने छ ।

शुल्क बढि लागे पनि अस्पतालले अतिरिक्त समयमा पनि विशेषज्ञ चिकित्सकद्वारा सेवा दिने कार्यलाई सकारात्मक लिन सकिन्छ । यसले गर्दा बिरामीलाई यसै फाइदा हुने नै भयो, अस्पताललाई पनि फाइदा हुन्छ । किनभने चिकित्सकहरुले काम पनि पाउने भए, पारिश्रमिक पनि पाउने भए । समयको सदुपयोग हुने भयो । त्यसैले यस कार्यक्रमलाई टिकाइराख्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्