| सोमवार, कार्तिक २३, २०८३

अरुलाई देखाउन होइन, घर आफ्नै आवश्यकता पूर्ति गर्ने गरी बनाउनु पर्छ

बारपाक केन्द्रविन्दू बनाएर जब भूकम्प गयो, त्यहाँका एकहजार भन्दा धेरै घरधुरी गल्र्यामगुर्लुम भयो । कैयौँ मान्छे पुरिएर मरे, घाइते भए, इत्यादि विपत्ति भयो ।

तर त्यहाँ केही घरहरु ठाडै रहे । कुनै चिरिए मात्रै, कुनै चिरिएनन् । भूकम्पले सातोपुत्लो उँडाउँदा पनि ती घरका बासिन्दा सुरक्षित रहे । कारण थियो, उनीहरुको घर भूकम्प प्रतिरोधी थियो । सारा ढलेका घरहरुको माझमा ठिङ्ग उभिएको त्यो घरको तस्वीरले निक्कै चर्चा पायो पनि ।
त्यो देखेर आम बारपाकबासीले भूकम्पमा पनि त्यस्तै ठिङ्ग उभिने घर धमाधम बनाउन थाले ।

पुरानो बारपाकको विरासत धान्ने गरी एकीकृत बस्ती बनाउने, पुरानै झल्को दिने गरी संरचना बनाउने महत्वाकांक्षी योजना अघि बढ्दाबढ्दै बारपाकबासीले धमाधम नयाँ शैलिको आरसिसी ढलान गरिएका घरहरु उभ्याउने होड चल्यो । अहिले बारपाकमा पुराना ढंग र ढाचाका घरहरु छैनन् ।

त्यसरी नै ढलेको लाप्राक गाउँ पनि स्थानीयबासी आ–आफैले ठड्याए । सरकारी अनुदान पनि नलिई लाप्राकी आ–आफैले नयाँ लाप्राक उभ्याए । पुरानो शैलिको काठले वा ढुंगाले छाएको लाप्राकमा पछि रंगीचंगी जस्ताले छाएको नयाँ लाप्राक जन्मियो । यो स्थानीय आवश्यकता थियो ।
कोही देशी, विदेशी हेर्न आउन् भनेर आदिमकालीन जंगली जीवनशैली अपनाउन कोही पनि तयार छैनन् ।

समय सापेक्ष विकासका पूर्वाधार उपयोग गर्ने सबैको अभिलाशा हुन्छ । पूर्वाधार विकास निर्माण गर्न सबै उद्धत हुन्छन् । अत्याधुनिक सुविधा लिन सबैको प्रयास रहन्छ । सुरक्षित बासस्थान निर्माण गर्न सबैको पहल हुन्छ ।

कुनै गाउँ, कुनै घर पर्यटकले मन पराउनका लागि बनाउने होइन, आफ्नो सुरक्षा र आवश्यकताको आधारमा बनाउने हो । बरु सकिन्छ भने नयाँ सेवा सुविधा मिल्ने गरी पुरानै ढंग र ढाचाको संरचना भने बनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्