
सीमान्तकृत समुदायको भाषा जोगाउने प्रयास सह्रानीय
औपचारिक निर्णय धेरै गर्ने पालिकाहरुले कहिलेकहीँ दीगो विकास हुने खालका कार्यक्रम पनि गर्ने गर्छन् । दुईबर्षअघि गण्डकी गाउँपालिकाले चेपाङ समुदायको धार्मिक, सांस्कृतिक, कला, सांस्कृतिक सम्पदाको संरक्षण गर्न चेपाङ संग्रहालय निर्माण गर्न सहयोग गरेको थियो ।
त्यसअघि बारपाक सुलीकोट गाउँपालिकाले बराम भाषाको संरक्षण तथा जगेर्ना गर्न भाषा पढाउने कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । भाषा आयोगसित समन्वय र सहकार्य गरी पालिकाले निर्णयको कार्यान्वयन ग¥यो ।
यसपटक भीमसेन थापा गाउँपालिकाले सोही निर्णय गरेको छ । भाषा आयोगसित समन्वय र सहकार्य गरी पालिकाले बराम भाषा पढाउने निर्णय गरेको हो ।
भाषा, कला, संस्कृति भनेको पहिचानसित जोडिएको बिषय हो । पहिचान सबैका लागि प्राणजत्तिकै प्यारो हुन्छ । त्यसैले महत्वपूर्ण रहेको भाषा संरक्षण गर्न पालिकाले पनि सघाउनु सह्रानीय निर्णय हो । कला, भाषा, संस्कृति जगेर्ना गर्ने, विकास गर्ने निर्णयले समुदायको हितमा काम गर्छ ।
पूर्वाधार निर्माण सम्बन्धी निर्णय गर्नु प्राथमिकता हुँदै हो । धेरैको मन, ध्यान त्यतै जान्छ । तर मानवीय तथा सामाजिक बिषयमा नीति निर्माण गर्ने बारे धेरैले कम सोचेका हुन्छन् । यस्तो बारेमा सोच बिचार पु¥याउनु पालिका प्रमुखहरुको विशेष क्षमता हो ।
बराम जातिको उद्गम गोरखा हो । त्यसैले यो समुदाय सबैभन्दा धेरै गोरखामा नै बसोबास गर्छन् । उनीहरुको आफ्नै भाषा छ । तर जागिरका लागि धेरै बरामहरुले थर परिमार्जन गरी गुरुङ वा थापा लगायतका बनाउँछन् । उनीहरुका सन्ततिले पनि नयाँ थर कायम राख्छन् । यसले गर्दा बरामहरुको संख्या घट्दैछन् । आधुनिकताका कारण नयाँ पुस्ताले भाषा पनि बोल्न छाड्दै गएका छन् । यस्तो अबस्थामा बराम भाषामा पढाइ गर्ने निर्णय गर्नु सह्रानीय छ ।




