| सोमवार, कार्तिक २३, २०८३

विद्यालय बन्दले गोरखामा खोप प्रभावित

विद्यालय बन्द हुँदा गोरखामा मोर्डना खोप कार्यक्रम प्रभावित भएको छ । १२ देखि १७ वर्ष उमेरका बालवालिकालाई विद्यालयमै पुगेर मोर्डना खोपको पहिलो मात्रा लगाइएको थियो । तीमध्ये २४ हजार आठ सय ७१ जनाले खोप लगाएका थिए ।

दोस्रो मात्रा खोप भने १३ हजार तीनसय आठ जना बालवालिकाले लगाएका छन् । यो गोरखा, पालुङटार नगरपालिका, चुमनुब्री गाउँपालिका बाहेकको तथ्याङ्क हो । स्वास्थ्य कार्यालय गोरखाका अनुसार १२ देखि १७ वर्ष उमेरका २६ हजार छ सय ११ जना बालवालिका गोरखामा थिए । यीमध्ये २४ हजार आठ सय ७१ जनाले पहिलो मात्रा मोर्डना खोप लगाए । पहिले विद्यालय खुल्ला हुँदा खोप अभियान एकैपटक चलेकाले तथ्याङ्क सहज रुपमा आएको थियो ।

अहिले विद्यालय बन्द हुँदा बालवालिकालाई खोजेर विद्यालय वा स्वास्थ्य संस्था बोलाएर खोप लगाउनुपर्दा समस्या भएको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘अहिले विद्यालय बन्द हुँदा दोस्रो मात्रा लगाउने संख्या केही कम देखिएको हो’, स्वास्थ्य कार्यालयका राजिब देबकोटाले भने ‘तर सबैलाई दोस्रो मात्रा खोप लगाईनेछ, सोही अनुसार कार्यक्रम चलिरहेको छ ।’ बुस्टर डोज खोप, माडोर्ना खोप, पहिलो मात्रा खोप सबै चलिरहेकाले तथ्याङ्क संकलनमा समस्या भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्