| मङ्लबार, कार्तिक २४, २०८३

नेपालमा बालबालिकामा कोरोना सङ्क्रमण बढ्दै

नेपालमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणको ग्राफ निरन्तर उकालो लागेसँगै बालबालिकामा पनि सङ्क्रमण देखिन थालेको छ । कोरोनाविरुद्धको खोप पहुँचभन्दा बाहिर साना बालबालिका रहेकाले सङ्क्रमणको उच्च जोखिम रहेको बालरोग विशेषज्ञहरू बताउँछन् । केही दिनयता बालबालिकाको सङ्क्रमण दरले दैनिक रेकर्ड तोड्दै गएको छ ।

मंगलबार मात्रै १० वर्ष मुनिका १८४ जना बालबालिका सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै, मन्त्रालयको तथ्याङ्क अनुसार मंगलबार नै ११ वर्षदेखि १९ वर्ष उमेर समूहका ५१३ जना कोरोना सङ्क्रमित भएका छन् । माघ १ गते यताको १० वर्ष मुनिका बालबालिकाको तथ्याङ्कलाई केलाउँदा निरन्तर सङ्क्रमण दर बढ्दै गएको छ । माघ १ गते दश वर्षमुनिका बालबालिका ८६ जना सङ्क्रमण पुष्टि भयो भने २ गते ९१ जना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, ३ गते अर्थात् सोमबार ८७ जना सङ्क्रमण भए भने मंगलबार १५९ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार १५१ बालबालिका सङ्क्रमित हुँदा बिहीबार सङ्क्रमितको सङ्ख्या बढेर १८९ जनामा पुष्टि भयो । शुक्रबार अर्थात् ७ गते १५३ दश वर्ष मुनिका साना बालबालिका सङ्क्रमित थिए ।

शनिबार १४६ जना सङ्क्रमित हुँदा आइतबार १०५ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयको आँकडाले देखाउँछ । सोमबार सङ्क्रमितको सङ्ख्या बढेर पुनः १२३ पुग्यो भने बालबालिका सङ्क्रमण दर निरन्तर उकालो लाग्दै मंगलबार १८४ जनामा सङ्क्रमण पुष्टि भयो ।

प्रतिक्रिया दिनुहोस्