
स्वमूल्यङ्कन हेलचेक्राईले दिर्घकालीन घाटा !
संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको बिभिन्न १० वटा बिषय क्षेत्रको एक हजार २४ वटा सुचांक तयार गरेर स्वमूल्याङ्कन गर्ने गर्छ । स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धीको बारेमा लेखाजोखा गरी शुसासन कायम राख्न यस्तो खाले मूल्याङ्कन मन्त्रालयले हरेक वर्ष गर्ने गर्छ ।
स्थानीय तहहरुले गरेको काम, वार्षिक बजेट तथा योजना तर्जुमा ब्यवस्थापन, सेवा प्रबाह, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, बतावरण संरक्षण र बिपद् ब्यवस्थापन, सहकार्य र समन्वय, शासकीय प्रबन्ध लगायतका विषयलाई मूल्याङ्कनको आधार बनाइएको छ । यसले पालिकाहरुलाई बित्तिय अनुदान लिन, पालिकाको बित्तिय अनुशासन कायम राख्न कत्तिको सफल भएको छ भन्ने पनि देखाउँछ ।
स्थानीय तहहरुले कसरी काम गरिरहेका छन् ? डकुमेन्टेशन कसरी गरिरहेका छन् ? कर्मचारी बिचको सहकार्य कुन स्तरमा छ भन्ने पनि यो मूल्याङ्कनबाट बुझ्न सकिन्छ । सामान्य प्रशासन मन्त्रालयले सुरु गरेको यो मूल्याङ्कनमा गोरखा नगरपालिका गण्डकी प्रदेशकै उत्कृष्ठ देखियो भने गोरखाकै सिरानचोक गाउँपालिका दोस्रो स्थानमा छ । नगरपालिका ८८ दशमलव पाँच र गाउँपालिकाले ७२ दशमलव ७५ अंक प्राप्त गरेका छन् । गोरखाका चारवटा पालिका भने यो प्रक्रियामा सहभागी नै देखिँदैनन् ।
अजिरकोट, शहीदलखन, आरुघाट र गण्डकी बाहेकका गोरखाका अन्य पालिकाले पुस मसान्त सम्म बिवरण नै भरेका छैनन् । धार्चे, चुमनुब्री, पालुङटार, बारपाक सुलिकोट, भीमसेन थापा गाउँपालिकाले बिवरण नै भरेका छैनन् । बिवरण अपडेट नगर्नुले मन्त्रालय अन्र्तगतको काममा ति पालिका कत्तिको जिम्मेवार रहेछ भन्ने प्रष्ट हुन्छ । बिवरण भरेर कम अंक पाएकाहरुले सुधार गर्दै जानुपर्ने देखिन्छ । अहिले उत्कृष्ठ भएका पालिकाहरुले पनि अझै आफ्नो मूल्याङ्कनको अंकभारलाई बढाउन तर्फ ध्यान दिनुपर्छ ।
यो मूल्याङ्कनले दातृ संस्था, दातृ निकाय, नेपाल सरकारले प्रदान गर्ने बिभिन्न अनुदान पालिकामा लिनका लागि बिकास र समृद्धीमा पनि ठुलो सहयोग पुग्ने मन्त्रालयले जनाएको छ । यस्तो संवेदनशिल विषयमा जनप्रतिनिधि, कर्मचारीको रुची नहुन अनौठ छ ।




