| सोमवार, कार्तिक २३, २०८३

एयरपोर्टलाई अतिक्रमणमुक्त बनाऔँ

पालुङ्टार विमानस्थल लामो समयदेखि बन्द अबस्थामा छ । पालुङटार जत्तिको उर्वर, उत्पादनशील, उपयोगी ठाउँको तीन किलोमिटर लामो एयरपोर्ट झण्डै ४० बर्षदेखि बन्द हुँदा यसको वैकल्पिक उपयोग बारे विभिन्न चर्चा, परिचर्चा चलिरहेको थियो ।

तर आइकाओको नियम अनुसार विमानस्थललाई मास्न वा अन्य कुनै पनि काममा प्रयोग गर्न नपाइने भयो । त्यसैले सरकारले यसलाई पुनर्निर्माण गर्न सुरु गर्न थाल्यो । सोही क्रममा अहिले धावनमार्ग निर्माणको काम भएको छ ।

धावनमार्ग निर्माणका लागि नियमित प्रक्रिया अनुसार नागरिक उड्डयन प्राधिकरणले बजेट विनियोजन गरेको थियो तर विभिन्न पार्टीका कार्यकर्ताले बजेट आफ्नै नेताले गोजीबाट झिकेर दिएको झै गरी स्तुती गाउन थाले ।
अहिले धावन मार्ग निर्माणको काम रोकिएको छ तर त्यसलाई सुचारु गर्न ती भजनकर्ता भक्तजनहरुबाट कुनै पनि पहल भएको छैन नत उनका कुलदेवताले नै कुनै पहल गरेका छन् ।

विमानस्थलको जग्गा अतिक्रमण गर्ने पनि तिनै भजनकर्ता, अतिक्रमणको र भजनकर्ताको संरक्षण गर्ने पनि उनै कुलदेवता र अतिक्रमणबाट एयरपोर्टको जग्गा फिर्ता ल्याउन पहल नगर्ने पनि उनै कुलदेवता ।

उहाँको पहलमा एयरपोर्ट चलाउने तयारी गरेको भनेर भजन भने भजनकर्ताहरुले आ(आफ्नै कुलदेउताहरुको भजन गाएका थिए । कुलदेउताकै संरक्षणमा एयरपोर्टलाई गौचर बनाउने, ढुंगा, गिटी, बालुवाको गोदाम बनाउने, एयरपोर्टभित्रै घर टहरा बनाउने, धावनमार्गकै क्षेत्रमा कालोपत्रे सडक बनाउने जस्ता कुकृत्य भएका छन् । यस्तो अबस्थामा अतिक्रमणमुक्त गरी एयरपोर्टको काम अघि बढाउन सहयोगको खाँचो छ तर कसैको कुनै आवाज सुनिएको छैन । यो दुखद हो ।

अतिक्रमण कसले ग¥यो, कसले गरेनतिर नजाऔँ । यो सार्वजनिक सम्पत्ति हो, यसको संरक्षण गर्नु सबैको दायित्व हो । त्यसैले अतिक्रमणमुक्त बनाएर एयरपोर्ट निर्माणको कामलाई गति दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्