
गोरखामा माघ २ गते देखि १२ गतेसम्म कोभिड विरुद्धको मोर्डना खोप लगाइने
गोरखामा माघ २ गतेदेखि १२ गतेसम्म कोभिड विरुद्धको दोस्रो मात्राको मोर्डना खोप लगाइने भएको छ । जिल्लाभित्रका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई उक्त खोप लगाउने स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । १८ वर्ष मुनिका १६ प्रतिशत बालबालिका उक्त खोप लगाउन बाँकी रहेको कार्यालयका जनस्वास्थ्य निरीक्षक नवराज अधिकारीले बताए ।
उनकाअनुसार माघ २ देखि ४ गतेसम्म भिमसेन थापा गाउँपालिकामा सो खोप कार्यक्रम संचालन हुनेछ । माघ ४ गते देखि ६ गतेसम्म आरुघाट, सिरानचोक, अजिरकोट र बारपाक सुलिकोट गाउँपालिका कोभिड विरुद्धको मोर्डना खोप कार्यक्रम संचालन हुने उनले जानकारी दिए ।
माघ ९ देखि ११ गतेसम्म गण्डकी गाउँपालिका उक्त कार्यक्रम संचालन हुने जनाएको छ । माघ १० देखि १२ गतेसम्म धार्चे, चुमनुब्री, गोरखा नगरपापालिका र पालुङटार नगरपालिकामा उक्त खोप कार्यक्रम संचालन हुने उनले बताए ।
पालिकाको स्वास्थ्य संयोजकका अनुसार हरेक स्थानीय तहको विद्यालय वा पायक पर्ने स्थानमा खोप कार्यक्रम संचालन हुने बताइएको छ । यो खोपले बालबालिकालाई रोग प्रतिरोधात्मक क्षमता बढाउने कार्यालयले जनाएको छ । यसका लागि सम्बन्धित पालिकामा अनिवार्य रुपमा खोपकार्ड लिई सम्बन्धित पालिकाका तोकिएको स्थानामा गएर खोप लगाउन कार्यालयले अनुरोध गरेको छ ।




