खोप नलगाउ“दैमा सार्वजनिक सेवाबाट बञ्चित ?
कोरोना महामारीको तेस्रो लहर जोडतोडका साथ फैलिरहेको छ । यसअघिका भेरियण्टभन्दा कम जोखिम भए पनि सर्ने क्षमता ज्यादा भएको कोभिडको ओमिक्रोन भेरियण्ट नियन्त्रण, न्यूनिकरण तथा रोकथामका लागि एकजुट, एकमत हुनु, संयुक्त पहल गर्नु आजको आवश्यकता हो ।
कोभिडसित कसरी बच्ने र बचाउने, कसरी जोगिने र जोगाउने भन्ने बारे दुईबर्ष लामो अभ्यास छ, अनुभव छ । त्यसलाई सतर्कताका साथ पालना गरेमा, त्यसलाई कडाइपुर्वक पालना गरेमा, त्यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गरेमा डराउनु पर्ने, आतंकित हुनुपर्ने अबस्था भने छैन । त्यसमाथि पनि कोभिडको तेस्रोबर्षसम्म आइपुग्दा अधिकांशले कोभिडविरुद्धको खोप लगाइसकेका छन् । अझै बुस्टर डोज खोपको चर्चा चल्न थालेको छ । यो अबस्थामा आम नागरिकले सरकारले निर्धारण गरेअनुसारको खोप लगाएमा पहिलो र दोस्रोबर्ष जस्तो त्रसित बन्नुपर्ने छैन ।
नडराउनू, आतंकित नबन्नू, तर सावधान हुनू भन्ने विज्ञहरुको सुझाव नै छ । सिसिएमसीको निर्णयअनुसार अहिले हरेक जिल्लास्थित डिसिसिएमसीले पनि कोभिडबाट बच्न विभिन्न निर्णयहरु गरेको छ । मास्क अनिबार्य रुपमा लगाउनु पर्ने, बारम्बार हात सेनिटाइज्ड गर्नुपर्ने, भौतिक दुरी कायम गर्नुपर्ने, जमघट, भेला, गोष्ठी, सभा सम्मेलन गर्नु नहुनेलगायतका स्वाथ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्न सरकारले सचेत गराएको छ ।
साथै कोभिडविरुद्धको खोप लगाउन पनि सरकार, सिसिएमसीले सुझाव दिएको छ । डिसिसिएमसीले पनि खोप अनिबार्य लगाउन सजग, सचेत गराएको छ । यी सब नागरिकको स्वास्थ्य सुरक्षाका लागि हो । जसका लागि नागरिक स्वयं तत्पर हुनुपर्छ । यद्यपि डिसिसिएमसीले आउँदो माघ सातगतेदेखि सबैखाले सार्वजनिक सेवा प्राप्त गर्न खोप लगाएको कार्ड देखाउनु पर्ने बाध्यकारी व्यवस्था गरेको छ । अन्यथा सार्वजनिक सेवाबाट बञ्चित गराइने भाषाको प्रयोग गरेको छ । यसप्रति भने पुनरावलोकन गर्नु आवश्यक छ ।




