
भच्चेकमा आँखा उपचार केन्द्र स्थापना
अजिरकोट गाउँपालिका वडा ३ स्थित भच्चेकमा आँखा उपचार केन्द्र स्थापना भएको छ । सोमबार गाउँपालिका अध्यक्ष फणिन्द्र धिताल, आँखा अस्पताल त्रिपुरेश्वका बोर्डका उपाध्यक्ष दमन बहादुर घले र मुटु फाउन्डेशनका अध्यक्ष धन बहादुर गुरुङले सयुक्त रुपमा केन्द्रको उद्घाटन गरेका थिए ।
भच्चेकमा रहेको स्वास्थ्य चौकीको भवनमा आँखा उपचार केन्द्र स्थापना गरिएको गाउँपालिका स्वास्थ्य निरिक्षक ठाकुर प्रसाद भट्टले बताए । आँखा उपचार केन्द्र स्थापना भएसँगै स्थानीयहरु आँखा सम्बन्धी थप उपचारका लागि सदरमुकाम लगाय धेरै टाढा धाउनु पर्ने बाध्यता हटेको उनले जानकारी दिए ।
‘अव आँखाको नियमित चेकजाँच र आँखामा सामान्य चोटपटक लागेको, मोतियाविन्दु लगायतका चेकजाँच र उपचार सबै यही हुन्छ । आँखा सम्बन्धी टेक्निसियनले सबै चेकजाँच गर्नुहुन्छ’ उनले भने । यसका लागि एक जना आँखा सम्बन्धी चेकजाँच गर्ने टेक्निसियन र एक जना ग्लास मेकर गरी दुई जना कर्मचारीलाई आँखा अस्पताल त्रिपुरेश्व व्यवस्थापना गर्ने सहमति भएको उनले बताए ।
मुटु फाउन्डेशनले केन्द्रलाई आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराएको उनले बताए ।
त्यस्तै, केन्द्रका लागि गाउँपालिका बाट पनि एक जना कार्यालय सहयोगी र एक जना स्वास्थ्यकर्मीको व्यवस्था गर्ने गरिने बताइएको छ ।
भच्चेकमा केन्द्र स्थापना भएसँगै आगामी दिनहरुमा गाउँ÷गाउँमा पुगेर स्थानीयहरुको आँखा चेकजाँच गर्ने र आँखा सम्बन्धी समस्या भएनभएको पहिचान गर्ने गाउँपालिकाले जनाएको छ । सो चेकजाँचको क्रममा आँखा सम्बन्धी गम्भीर समस्या भएका व्यक्तिहरुलाई समूह÷समूह बनाई काठमाडौबाट आएका डाक्टरहरुबाट भच्चेकमै अप्रेशन गर्ने तयारीमा रहेको भट्टले जानकारी दिए ।
भच्चेक स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा अजिरकोट वडा ३ का वडा अध्यक्ष तयाराज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष धिताल, नेपाल आँखा अस्पताल त्रिपुरेश्वका बोर्डका उपाध्यक्ष दमन बहादुर घले र मुटु फाउन्डेशनका अध्यक्ष धन बहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्य, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडी, वडा ४ का वडा अध्यक्ष जंग बहादुर गुरुङ, शिक्षक संघका कोषाध्यक्ष कालिका अधिकारी लगागतले मन्तव्य राखेका थिए ।




