| सोमवार, कार्तिक २३, २०८३

एमक्यापको म्याद यथासीघ्र थप अथवा बिकल्प देऊ

गोरखाको मनास्लु क्षेत्र अति संवेदनशील र अति महत्वपूर्ण क्षेत्र हो । यहाँ विश्वकै लोपोन्मुख, अति संकटासन्न, संकटासन्न जीवजनावरहरु छन्, जैविक विविधताहरु छन् ।

तिब्बतको सीमाक्षेत्र भएकाले यहाँको गतिविधि निगरानीय छन् । विश्व नंवर वानन्मुख चीनको सीमा क्षेत्रमा हुनसक्ने शंकास्पद गतिविधिलाई नियन्त्रण गर्न पनि यस क्षेत्र निगरानीय छ ।

यसक्षेत्रमा बर्षेनी विदेशी पर्यटकको संख्या बढिरहेको छ । मनास्लु हिमाल, लार्के हिमाल आरोहणका लागि तथा लार्केपासका लागि वा सामागाउँ एवं चुमउपत्यकासम्म टूेकिङका लागि पर्यटक आउनेजाने गरिरहन्छन् । पर्यटकको उद्देश्य हिड्नु मात्र नभै अन्य विभिन्न पनि हुनसक्छन् । त्यसैले पनि उनीहरुको यात्रा व्यवस्थित गर्नु जरुरी छ ।

त्यस्तै यहाँ हजारौँ बर्ष प्राचीन गुम्बा तथा अन्य धार्मिक, सांस्कृतिक सम्पदाहरु छन् । तिनीहरुको संरक्षण, विकास र प्रचारप्रसार गर्नका लागि यहाँ मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप) कार्यरत छ ।

त्यस्तै यार्सागुम्बाजस्ता महत्वपूर्ण जडिबुटी छन् । जसको संरक्षणसंगसंगै यसको संकलन, ओसारपोसार र बेचबिखनका लागि जिम्मेवारीपूर्वक व्यवस्थापन गर्नुपर्ने हुन्छ । यी विभिन्न कार्यभार सम्हालिरहेको एमक्यापको अवधि समाप्त भएको १७ महिना भएको छ तैपनि अझै नविकरण भएको छैन । नविकरण हुने वा नहुने पनि अनिश्चित छ ।

यी सबको सम्मुचित व्यवस्थापनका लागि एमक्यापलाई नविकरण गर्नुपर्छ अथवा एमक्याप खारेज गर्ने हो भने अन्य कुनै निकायलाई यहाँको संरक्षण तथा विकासका लागि कार्यभार दिनुपर्छ ।

यहाँका बासिन्दा तल्लोभेगका सामान्य ठाउँलाई झैँ सम्पूर्ण रुपमा खुल्ला हुनुपर्छ भन्ने माग गर्ने गर्दछन्, तर यो ठाउँ तल्लोभेग भन्दा विशेष खालको भएकाले संवेदनशील बस्तुको संरक्षण गर्नु जरुरी छ । त्यसैले एमक्यापलाई नविकरण गर्नु वा संरक्षणका लागि अन्य वैकल्पिक निकायलाई यहाँको जिम्मेवारी दिनुपर्छ । अनिर्णयको अबस्थालाई लम्बाइरहनु हुदैन ।

प्रतिक्रिया दिनुहोस्