आन्तरिक पर्यटन र होमस्टेको सम्भावना
केही बर्षयता आन्तरिक पर्यटनको तीब्र विकास भइरहेको छ । विशेष गरी सन् २०२० लाई आन्तरिक भ्रमण बर्ष मनाउने सरकारको योजनाले पनि आन्तरिक पर्यटनको प्रवद्र्धन भएको हो ।
त्यो बेला कोभिड १९ महामारीको उत्कर्ष भएकाले मान्छे हिँडडुल गर्न सकेनन्, यद्यपि खुल्ला हुनेवित्तिकै आन्तरिक पर्यटकहरु देशका विभिन्न पर्यटकीय स्थलको भ्रमणमा निस्के । गोरखा आसपासको उल्लेख गर्नुपर्दा मनकामना, गोरखा दरबार, लिगलिगकोट भ्रमण गर्ने आन्तरिक पर्यटक केही समययता निकै बढे ।
कोरोना कहरकै बीच मनास्लु क्षेत्र जाने आन्तरिक पर्यटकको संख्या पनि बढेको स्थानीयबासीको भनाइ छ । कोरोना सकिए पछि पनि काठमाडौँ लगायत सहरी सभ्यतामा हुर्केका युवाहरु मनास्लु ट्रेकिङमा रमाए ।
बारपाक, लाप्राक जस्ता पर्यटकीय गाउँ घुम्न आउनेहरुको संख्या पनि बढि नै रहेको छ । लिगलिगकोटमा आन्तरिक पर्यटकको भीड र त्यस क्षेत्रमा बढेको चहलपहलसँग कोही अपरिचित छैनन् ।
यसले आन्तरिक पर्यटनको सम्भावनाको पूर्व संकेत गरेको छ । यही सन्दर्भमा गोरखाका बारपाक लाप्राक, नम्की, सिरानडाँडा, वीरेनचोक, पस्लाङ जस्ता गाउँमा होमस्टे निर्माण भइरहेका छन् । आन्तरिक पर्यटकको रोजाइमा होमस्टे पर्ने हुँदा होमस्टे निर्माणमा अहिले स्थानीय व्यवसायीहरु लागिपरिरहेका छन् ।
होमस्टेमा पारिवारिक वातावरण हुने, स्वस्थकर, स्थानीय खाना खान पाइने र स्थानीय रहनसहनसित एकाकार हुन पाइने भएकाले पर्यटकहरु घरबास(होमस्टे)मा आकर्षित भएका हुन् । पर्यटकहरु विशेषगरी त्यस ठाउँको कला र संस्कृतिसित पनि झ्याम्मिन चाहनेहुँदा होमस्टेले त्यस्तो वातावरण प्रदान गर्छ त्यसैले पनि आन्तरिक पर्यटकले होमस्टे रोज्ने गर्छन् ।
कतिपय अबस्थामा सहरी क्षेत्रमा पनि होमस्टे सेवा सञ्चालन भएको, फस्टाएको देख्न सकिन्छ । होटलमा महंगो खर्च गरी बस्न नसक्ने(नचाहने)हरुले होमस्टे रोज्ने गर्छन् । त्यसैले सहरी र अझ बढि ग्रामीण क्षेत्रमा जाने पर्यटकलाई मध्यनजर गरी होमस्टेको विकास र विस्तार गर्न सके स्थानीयको पनि आयआर्जन वृद्धि हुने विश्वास लिन सकिन्छ ।




