
भूकम्पले भत्काएका गोरखा र नुवाकोटका ५० हजार आवास पुनर्निर्माण सम्पन्न
२०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्त्काएका घरहरूको पुनर्निर्माण सकिँदा घर पाउनेहरू खुसी भएका छन् ।
२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र २९ गतेको पराकम्पका कारण नेपालमा ठूलो जनधनको क्षति भएको थियो ।
आवास पुनर्निर्माण सम्पन्न भएपछि भूकम्पको केन्द्रविन्दु रहेको गोरखाको बारपाकका स्थानीय ६ वर्षपछि आफ्नै आवासमा बसेका छन् ।
जग्गाविहीनले पनि घर बनाउनका लागि जग्गा पाएको र बस्नका लागि उचित बासस्थान पाउँदा खुसी देखिन्छन् । भारत सरकार र संयुक्त राष्ट्रसंघ विकाश कार्यक्रम यूएनडीपीको संयुक्त सहयोगमा गोरखा र नुवाकोटका करिब ५० हजार घर पुनर्निर्माण सम्पन्न भएको छ ।
अझै पनि गोरखामा भूकम्पबाट भत्किएका साँस्कृतिक सम्पदाहरूको पुनर्निर्माण गर्न सके गोरखाको मुहार फेरिने स्थानीयको भनाइ छ ।
त्यस्तै गोर्खा नगरपालिका–१३ का वडाध्यक्ष हरिबहादुर खनालले अहिले निर्माणसम्बन्धी अधिकांश काम सकिएको र केही विद्यालय तथा साँस्कृतिक सम्पदाका काम बाँकी रहेको बताए । उनले नेपाल सरकारले भूकम्पका कारण भत्किएका घरहरू पुनर्निर्माणका लागि तीन लाख रुपैयाँ दिए पनि त्यो पर्याप्त नहुँदा कतिपय आवास अहिलेसम्म पनि निर्माण हुन नसकेको गुनासो गरे ।
अध्यक्ष खनालले भने, “अहिले निर्माणसम्बन्धीका धेरै काम भएका छन् । अधिकांश विद्यालय बनिसकेका छन् । बन्न बाँकी भनेको धार्मिकसंरचना, मठ, मन्दिर छन् । यद्यपि धेरै स्वास्थ्यचौकी र विद्यालयहरू बनिसकेका छन् । बन्ने क्रममा पनि केही छन् । तर नेपाल सरकारले तीन लाख रुपैयाँभन्दा धेरै सहयोग गर्न सकेन । तीन लाखले पहाडी भेगमा घर बनाउन गाह्रो हुने रहेछ ।
स्थानीय निर्वाचन भइसकेपछि जनप्रतिनिधिहरूको दौडधुपले गर्दा केही नर्मल भयो । भुक्तानी दिने प्रक्रिया पनि अलि छिटो भयो । एक वर्ष यता नर्मल तरिकाबाट धेरै घर बनिसकेपछि सामान्य बन्दै गएको छ । अहिले बनेका घरहरू जति बन्दैछन्, ती घरहरू भूकम्प प्रतिरोधी हुनुपर्ने, भनेर मापदण्ड नै स्थानीय तहले निकालेका छौँ ।”
आवास पुनर्निर्माणपछि स्थानीय रोजगारी सिर्जना भएको र काम सिक्ने अवसरले आफ्नो आर्थिक स्थितिमा सुधार भएको बताउँछन् । यूएनडीपीले आफ्नै विज्ञ इन्जिनियरबाट गाउँगाउँमा पुगेर भूकम्प प्रतिरोधी घर बनाउन सिकाएको र त्यो सीपले नै आफ्नो र परिवारको आर्थिकस्तर बढ्दै गएको बताउँछन् । उक्त तालिम महिला र पुरुष दुवैले पाउँदा महिलालाई पनि समान अधिकार मिलेको उनीहरूको भनाइ छ ।
आवास निर्माण साथी डम्बरबहादुर सुनार, घर बनाउन मात्र नभएर आफूले भूकम्पबाट पीडित र त्रसित गोरखाबासीलाई सम्झाउन पाएकोमा निकै खुसी लागेको महसुस गरेका छन् । त्यस्तै सिक्स टेक्टिकल सर्भिसेस प्रालिका दीपक त्रिपाठीले आफ्नो कम्पनीले नेपालमा आवास निर्माण साथीलाई सामाजिक, प्राविधिक र संरचनात्मक कुराहरूमा सहयोग गर्न पाएकोमा खुसी लागेको बताए । उनले नेपालमा भूकम्पबाट सुरक्षित घर निर्माण गरेको बताए ।
त्यस्तै नेपाल स्थित भारतीय दुतावास उपप्रमुख खम्पा नामग्यालले भारत सरकारले भूकम्पबाट भत्किएका आवासगृह बनाउन सहयोग गरिरहेको र अझै विकासका क्षेत्रमा पनि सहयोग गर्ने बताइन् । उनले यूएनडीपी र भारत सरकारको सहयोगमा नुवाकोट र गोरखाका ५० हजार घर पुनर्निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गर्र्दै भारत सरकारले नेपालमा स्वास्थ्य, शिक्षा र संस्कृतिको क्षेत्रमा सहयोग गरिरहने बताइन् ।
त्यस्तै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नेपाल उपप्रतिनिधि बेर्नान्र्डो काक्कोले २०१५ मा गएको भूकम्पले भत्काएका गोरखा र नुवाकोटका आवास पुनर्निर्माणको काम पूर्णरूपमा सम्पन्न भएको बताए । उनले यूएनडीपीले यसमा सामाजिक र प्राविधिक सहयोग गरेको बताउँदै भारत सरकारको सहयोग उल्लेखनीय रहेको बताए ।
उ
पप्रतिनिधि बेर्नान्र्डोले पुनर्निर्माणका काममा आफूहरू हरेक कुरामा केन्द्रित रहेकाले सुरक्षित आवास निर्माण भएको दाबी गरे । उनले नेपाललाई योबाहेकका अन्य विकासका क्षेत्रमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । साभारःकारोबार




