| सोमवार, कार्तिक २३, २०८३

सोती माछाखोला सडकमा यथासीघ्र बस सेवा सञ्चालन गर्न देऊ

बेनिघाट, आरुघाट, लार्के सडकको हावाडाँडादेखि माथिको खण्ड नेपाली सेनाले निर्माण गर्न थालेको हो । २०७४ सालदेखि निर्माण सुरु गरेको सो सडकमा बिगत २०७५ सालदेखि माछाखोलासम्म सवारी साधन गुड्न थाल्यो ।

बर्खाका तीन महिनाबाहेक नौ महिनासम्म टूक, जीपलगायतका सवारी साधन निर्वाध गुड्छन् तर अहिलेसम्म बस सेवा सञ्चालन हुन पाएको छैन । नेपाली सेना भन्छ, ‘स्थानीय सरकार र स्थानीय प्रशासनले अनुमति दिएमा हामी बस सेवा रोक्दैनौँ ।’ स्थानीय सरकार भन्छ, ‘बस सेवा सञ्चालनको अनुमति दिन बारम्बार स्थानीय प्रशासनमा अनुरोध, आग्रह गरिरहेका छौँ ।’ स्थानीय प्रशासन भन्छ, ‘हामीलाई जति पटक अनुरोध भई आउँछ, उति पटक माथिल्लो निकाय(गृहमन्त्रालय)मा अनुमतिका लागि पत्राचार गरी पठाउँछौँ ।’ यति हुँदा पनि अनुमति भने अहिलेसम्म आएको छैन ।

सोतीदेखि माछाखोलासम्मको १३ किलोमिटर सडकमा जीपले प्रतिव्यक्ति चारसय रुपैयाँ भाडा असुल्छ । गोरखा काठमाडौँ १४२ किलोमिटरको भाडा चारसय रुपैयाँ छ जबकि त्यहाँको जम्मा १३ किलोमिटर यात्रा गरेको भाडा चारसय रुपैयाँ छ । यसरी दिनहूँ दुर्गमका गरिब, निमुखा बासिन्दा लुटिइरहेक छन् । यो व्यवस्थाको अन्त्यका लागि ठूलाठालु नेताहरु चुँक्क बोल्दैनन् किनभने उनीहरुको साँठगाँठ जीप व्यवसायीसित छ । बस चल्यो भने उनीहरुको रोजीरोटी खोसिन्छ । उनीहरु रिसाउँछन् । उनीहरु रिसा एभने भोट घट्छ भन्ने नेताहरुको स्वार्थ छ ।

तर यदि सो सडकमा बस सेवा सञ्चालन भयो भने सर्वसाधारण ठगिन पाउँदैनन् । सर्वसाधारण खुशी भए उनीहरुको भोट पाइन्छ भन्ने बारे उनीहरुले सोच्दैनन् । त्यसैले बस सेवा सञ्चालनको बारेमा चुँक्कसम्म बोल्दैनन् ।
यदि बस सेवा सञ्चालन भयो भने सात जनाको सिट भएको जीपमा २० जना चढ्नु पर्ने बाध्यताको पनि अन्त्य हुन्छ । जोखिमपूर्ण यात्रा गर्नुपर्दैन । त्यसैले सो सडकमा बस सेवा सञ्चालनका लागि यथासीघ्र व्यवस्था मिलाऔँ ।

प्रतिक्रिया दिनुहोस्