| सोमवार, कार्तिक २३, २०८३

हिमाली संरक्षित जनावरको सुरक्षा गरौँ

केही समयअघि स्वीजल्याण्डमा संकटमा परेको एउटा गाईलाई हेलिकोप्टरले उद्धार गरेको फोटोले निकै चर्चा पायो ।
स्वीजल्याण्डबाहेक अन्य मुलुकले पनि संकटमा परेका वा घाइते जीव जनावरलाई महंगो प्रविधि अपनाएर उद्धार गर्ने गर्छन् ।
अहिले हिमाली भेगमा भारी हिमपात छ । हिमपातले गर्दा त्यहाँका संरक्षित जीव जनावरहरु संकटमा परेका छन् ।

हिमपातबाट बच्न उनीहरु भाग्दै(भाग्दै मानवबस्तीको छेउछाउ आउँछन् । विशेषगरी चुमनुब्री गाउँपालिकाको नुब्रीतर्फ बिही भन्दा माथि र चुमतर्फ चुम्चेतभन्दा माथिका क्षेत्र अहिंसा क्षेत्र हो । त्यहाँ जीव जनावर काटमार गरिँदैन । शिकार देखिँदैन, जीवन जनावरलाई ढुंगामुढा गरी लखेटिँदैन । जीव जनावर मर्ने डरले डँडेलो लगाउन समेत बन्देज छ ।

यतिसम्म कि, ती क्षेत्रमा काटमार गर्ने उद्देश्यले जीवजनावर पाल्दा पनि पालिँदैन, ती क्षेत्रको बाटो भएर काटेर खाने उद्देश्यले जीवजनावर ओहोरदोहोर गर्न पनि दिइँदैन । त्यसैले जंगली संरक्षित जनावर गाउँसम्म आउँछन् । तर जंगली कुकुरले कस्तुरी, नाउर, झारल, घोरल जस्ता जीव जनावर मार्छन् । शरणमा आएका त्यस्ता संरक्षित, संकटासन्न जनावरहरु कुकुरको आक्रमणमा मर्छन् ।

अर्कातिर हिमपातका बेला हिम पहिरोमा परी त्यस्ता जनावर घाइते हुने, तथा मर्ने गर्छन् । अर्थात हिमपातका बेला ती जनावरले खाना र पानी नपाएर संकटमा पर्ने गर्छन् ।

यस्ता जनावरलाई संरक्षण गर्नुपर्छ । घाइते भएमा बचाउनु, सुरक्षा दिनु पनि सम्बन्धित निकायको दायित्व हो । विशेष गरी त्यस क्षेत्रमा राष्टिूय प्रकृति संरक्षण कोष अन्तर्गतको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यरत छ । सो संस्थाले नाम जस्तै संरक्षणको काम गर्नुपर्छ । मरेपछि मरेकाको तथ्यांक राख्नु भन्दा पनि संरक्षण गर्नु, जोगाउनु, बचाउनु नै पहिलो दायित्व हो ।

प्रतिक्रिया दिनुहोस्