गोरखा क्याम्पसको भौतिक पूर्वाधारलाई संमृद्ध बनाऊ
गोरखा क्याम्पस गोरखा जिल्लाको एक मात्र त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस हो । ४० को दशकदेखि सञ्चालनमा रहेको यो क्याम्पसले गोरखा र छिमेकी जिल्लाका लागि दक्ष शिक्षक उत्पादन गर्नमा ठूलो योगदान गरेको छ । त्यसैले यो क्याम्पसलाई जिल्लाको एक धरोहरको रुपमा लिन सकिन्छ । जिल्लाको एक प्रतिष्ठाको विषयको रुपमा पनि लिन सकिन्छ ।
त्यतिबेला यहाँ गोरखाका मात्र नभै धादिङ, लम्जुङ, तनहूँ, मनाङदेखिका विद्यार्थीहरु पढ्न आउँथे, जतिबेला ती जिल्लाहरुमा शिक्षा शास्त्र संकायमा पठनपाठन हुदैनथ्यो । अहिले त्रिविसंग सम्बन्धन लिएर नीजि, सामुदायिक प्रयासबाट विभिन्न ठाउँमा शिक्षा संकायमा पढाइ हुन थालेको छ ।
यस क्षेत्रकै सबैभन्दा जेठो शिक्षा क्याम्पस भएर पनि यसको विद्यमान अबस्था कारुणिक छ । छ बर्षअघि भूकम्पले जीर्ण बनाएको भवनमा नै अहिले पनि पढाइ भइरहेको छ । जोखिम भनेर पुनर्निर्माण प्राधिकरणले रातो स्टिकर टाँसेको भवनको सो स्टिकर फ्याँकेर अहिले पढाइ भइरहेको हो ।
अहिले जिल्लाभरका कुना कन्दराका सामुदायिक विद्यालयमा बडेबडेमाका विद्यालय भवन बनेका छन् । विद्यार्थी होउन् वा नहोउन्, भवन भव्य छन्, रिसोर्ट जस्ता । तर त्यही विद्यालयमा पढाउने शिक्षक उत्पादन गर्ने कयाम्पसको भवन भने जीर्ण छ । यसलाई भत्काएर पुनर्निर्माण गर्न जरुरी छ । अहिले पुनर्निर्माण प्राधिकरण खारेज भइसकेको छ तर भूकम्पले जोखिम भएको भवन पुनर्निर्माण हुन भने सकेको छैन ।
तसर्थ यसप्रति सम्बन्धित निकायको ध्यान जानु जरुरी छ । विश्वविद्यालयको ध्यान जानु जरुरी छ । स्थानीयबासी, जिल्ला विपत व्यवस्थापन समिति, राजनीतिक नेतृत्व, जनप्रतिनिधि, सबैको साझा पहलले यस क्याम्पसको भवनले नयाँ संरचना पाओस् ।




