कमाउँदै सिक्दै अनुकरणीय कार्य
शिक्षाको मक्सत व्यवहार परिवर्तन हो । यथास्थितिमा राख्ने शिक्षा ब्यर्थ हो । यस्ता शिक्षामा गरिएको लगानी र बालुवा महलको औचित्यता उही(व्यर्थ) हो ।
डाक्टर हर्क गुरुङ भन्थे, ‘…यदि तपाईँ २० बर्षका लागि योजना बनाउँदै हुनुहुन्छ भने रुख रोप्नुस्, यदि सयबर्षको लागि योजना बनाउँदै हुनुहुन्छ भने शिक्षामा लगानी गर्नुहोस् ।’ शिक्षाको दूरगामी महत्व यसरी प्रष्ट हुन्छ ।
शिक्षाबाट तात्कालिक र दीर्घकालिक फाइदा हुन्छ । त्यसैले शिक्षाको विकासका लागि सामाजिक अगुवाहरुको ध्यान, चिन्तन, मननको जरुरी छ । तर अहिलेको शिक्षा नीति वैज्ञानिक र व्यवहारिक देखिँदैन । त्यसैले भनिन्छ, विद्यालय, महाविद्यालय बेरोजगार जनशक्ति उत्पादन गर्ने कारखाना जस्ता भएका छन् । यसको कारण शिक्षा नीतिमा देखिएको त्रुटी हो ।
कतिपयले मौलिक सीप, मौलिक योजना, मौलिक दृष्टिकोणको विवेकपूर्ण प्रयोग गरी विभिन्न गतिविधि गरेको देखिन्छ । शिक्षालाई अर्थपूर्ण बनाउन आफ्नै तबरबाट हर प्रयत्न गरिहेका हुन्छन् । त्यसको प्रतिफल पक्का पनि अपेक्षित हुनेछ भनेर प्रक्षेपण गर्न सकिन्छ ।
पालुङटार नगरपालिका ९ सेरास्थित त्रिवेणी माविले आफ्नै सक्रियतामा कमाउँदै सिक्दै अभियान सुरु गरेको छ । यद्यपि ‘कमाउँदै सिक्दै’ भन्ने सरकारी कार्यक्रम पनि छ । तर यहाँ सरकारी सहयोग अहिलेसम्म छैन । स्वतस्फूर्त गरेको काममा भावी दिनमा सरकारी निकायको ध्यान पुग्ला, नपुग्ला भविष्यले नै देखाउने छ ।
जे होस्, कसैले राम्रो काम गरेको भने तारिफ गर्न कञ्जुस्याईँ गर्नु हुदैन । कसैले अघि बढ्ने प्रयास गरिरहँदा सबैले आफ्नो ठाउँबाट उकेरा लगाउनु वाञ्छनीय नै हुन्छ । आलोचना, उपाहासले यस्ता काम गर्नेहरुलाई अघि बढ्न दिनेछैन ।
त्यसैले राम्रा कामको अनुकरण, प्रसंसा गर्दै र हौसला प्रदान गर्नुपर्छ ।




