| सोमवार, कार्तिक २३, २०८३

एमक्यापको अन्यौलताभित्र मनास्लु क्षेत्रबासी

कुनैबेला महेन्द्र प्रकृति संरक्षण कोष र पछि नेपाल प्रकृति संरक्षण कोष(एनटिएनसी)माताहतमा रहेको मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप) अहिले म्यादथप भएको छैन । लामो समयदेखि म्याद थप नहुँदा सो क्षेत्रको व्यवस्थापन गर्ने जिम्मा लिएको निकाय अन्यौलमा छ ।
एमक्यापको कार्यक्षेत्र मनास्लु क्षेत्र(चुमनुब्री गाउँपालिका) भरि पर्दछ । विशेष गरी यहाँका प्राकृतिक, सामाजिक, आर्थिक, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने, जगेर्ना गर्ने, विकास गर्ने र प्रचारप्रसार गर्ने एमक्यापको अभिभारा हो ।

यहाँ पदयात्राका लागि आउने पर्यटकलाई व्यवस्थित बनाउने, पर्यटन पूर्वाधार निर्माण गर्ने, जडिबुटी, वन्यजन्तुको संरक्षण गर्ने, विद्युतीकरण गर्ने, पुल, गोरेटो, घोडेटो निर्माण गर्ने, सामाजिक सचेतीकरण, जनजागरण गर्ने आदि काम पनि यसले गर्ने गथ्र्यो तर लामो समय भयो, एमक्यापको म्याद थप भएको छैन ।

एनटिएनसीले म्याद थपका लागि कागजात अर्थमन्त्रालयमा पेश गरेको छ तर मन्त्रालयले यसलाई अघि बढाएको छैन । फाइल अघि नबढ्दा एमक्याप पनि अन्यौल छ, सो क्षेत्रका बासिन्दा पनि अन्यौलमा छन् । एमक्यापले व्यवस्थित गर्दै आएका सम्पदाहरु संरक्षण गर्ने अभिभारा अन्य निकायलाई पनि तोकिएको छैन, एमक्यापलाई नवीकरण पनि गरेको छैन । यसो हुँदा यस क्षेत्रका बासिन्दाहरु सेवा लिने ठाउँको बारेमा अलमलमा छन् ।
के एमक्याप अव म्याद थप नभई बिलाएर जान्छ त ? यदि बिलाएर गयो भने वा खारेज भयो भने त्यहाँ उसले सञ्चालन गरिरहेका गतिविधि सञ्चालन गर्नुपर्दैन ? कि अरु कुनै निकायले गर्छ ? यो बारेमा पनि प्रष्ट नीति निर्देशन आएको छैन । सेवा दिने निकाय नहुँदा उपभोग्य बस्तुलाई विधिवत उपभोग गर्न नपाउने अबस्था सिर्जना भएका छन्, जसले गर्दा केहीदिनअघि एक स्थानीय पक्राउ परेका थिए ।
तसर्थ हुन्छ वा हुदैन भनेर बेलैमा भनिदिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्