| सोमवार, कार्तिक २३, २०८३

निर्माण व्यवसायीलाई सशक्तिकरण जरुरी

निर्माण व्यवसायी र विकास निर्माण सापेक्ष छन् । निर्माण व्यवसायीको काम निर्माण गर्ने हो, त्यसैले उनीहरुलाई राष्ट्र निर्माणका(विकासका) खम्बा भन्दा अतिरञ्जित हुदैन ।
गुणस्तरीय निर्माण व्यवसायी र गुणस्तरीय निर्माण कार्य पर्याय हुन् । गुणस्तरहीन निर्माण व्यवसायी र गुणस्तरहीन निर्माणको काम पनि पर्याय हुने नै भए । त्यसैले मुलुकले निर्माण व्यवसायीलाई सबल, सशक्त, गुणस्तरीय बनाउनु जरुरी छ ।

निर्माण व्यवसायीले समयमै काम सम्पन्न गरे देश विकास छिटो हुन्छ । निर्माण व्यवसायीले गुणस्तरीय काम गरे, देश विकास पनि गुणस्तरीय हुन्छ । जब निर्माण व्यवसायीले काम अलपत्र बनाउँछन्, देश विकासको काम डामाडोल हुन्छ ।

जब निर्माण व्यवसायीले विकास निर्माणको काम गुणस्तरहीन गर्छन्, देशका भौतिक पूर्वाधार डामाडोल हुने नै भयो । यसरी हेर्दा निर्माण व्यवसाय, निर्माण व्यवसायी योग्य हुनुपर्छ, सक्षम हुनुपर्छ, गुणस्तरीय हुनुपर्छ । गोरखामा होस् वा अन्य जिल्लामा किन नहोओस्, निर्माण व्यवसायीका कारण उब्जेका विकास निर्माणका बाधाहरु बग्रेल्ती छन् ।

कैयौँ काम सम्झौता भएअनुसारको समयमा सम्पन्न भएका छैनन्, कैयौँ काम कमिशनै कमिशनले घाटामा डुबाएर ठेकेदार तन्नम भएका छन् । कैयौँ काम ‘क्रोनिक’ भएका छन् । न खराब निर्माण व्यवसायीलाई कार्यालय प्रमुखले कारबाही गरेर तह लगाउन सक्छ, न मन्त्री, सांसदले नै खराब निर्माण व्यवसायीलाई काम गर्न बाध्य बनाउन सक्छ ।

उल्टै निर्माण व्यवसायीले कर्मचारी, नेता, मन्त्रीहरुलाई आफू अनुकूल परिचालन गरिरहेको हुन्छ । सबै अबस्थामा निर्माण व्यवसायीको दादागिरी मात्र चलेको पनि हुदैन । कतिपय निर्माण व्यवसायी राज्यले अबलम्बन गरेका नीति नियमका कारण बाँधिएका पनि छन् । अव्यवहारिक नीति निर्माण गरेबापत कतिपयले पीडा भोगिरहनु परेको छ ।

कतिपय कार्यालय प्रमुखले यथासीघ्र साइट नदेखाइदिएर व्यवसायीलाई दुख दिइरहेका हुन्छन्, कतिपयले बिलभुक्तानी नदिएर सताएका हुन्छन् ।
निर्माण कार्यमा खट्ने व्यवसायीलाई यथोचित शसक्तिकरण गर्नु जरुरी छ, व्यवहारिक नीति नियममा बाँध्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्